महा शिवरात्री


ॐ नमः भृङ्गारेश्वराय । श्री भृङ्गारेश्वर महादेव नेपालमा प्राप्त भएका विभिन्न नामका महादेवहरुमध्ये अति प्राचीन महादेव हो । अति प्राचीन महादेवमा श्री पशुपतिनाथलाई पनि लिने गरिन्छ । गोपालराजवंशावली अनुसार नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेवको प्रादूर्भाव पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने उल्लेख रहेको छ (श्री धनबज्र बज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेख, नेपाल एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पेज १९) । श्री भृङ्गारेश्वर शिवलिङ्ग चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्ये एक स्वयम्भू सिद्धज्योतिर्लिङ्ग हो । यसरी यो मानव निर्मित नभई आफै उत्पन्न भएको ज्योतिर्लिङ्ग रुपमा मानिएको छ । यो शिवलिङ्ग हिमाल पहाडको काखमा रहेको घनाजंगल भएको भूमण्डलमा (नेपाल उपत्यकामा) श्री भृङ्गारेश्वर महादेव प्रादुर्भाव भयो भनी लेखिएको छ । यसरी श्री भृङ्गारेश्वर महादेव नेपालमा प्राप्त महादेवहरुमा अति प्राचीन महादेवको रुपमा गणना गरिन्छ ।