सोह्र श्राद्ध

Pinda

चन्द्रमासका आधारमा अश्विन कृष्णपक्षलाई पितृपक्ष र शुल्कपक्षलाई दुर्गा पक्ष भनिन्छ । असोजमा पितृ र देवीदेवताको विशेष पर्व मनाइन्छ । हाम्रो संस्कृतिमा देवता,पितृ र अतिथिका लागि विशेष श्रद्धा र सम्मान गर्ने मौलिक अवधारणा प्रशस्तै पाइन्छन् । यही आधारमा पर्वहरू मनाउने गरिन्छ ।  आजदेखि लाग्ने अश्विन कृष्ण पितृपक्ष सोह्रश्राद्धलाई पनि हामी सनातन पर्वकै रुपमा मनाउने गरिन्छ ।

पितृकार्य भन्नाले दिवंगत पूर्वजहरूको आत्मा तृप्त गराउने उद्देश्य लिएर श्रद्धापूर्वक तर्पणद्वारा जलदान गर्ने, सिधाद्वारा अन्न वस्तुदान गर्ने, पिण्डदानद्वारा पाकेको अन्न दान गर्नुका साथै आफान्तहरूलाई निमन्त्रणा गरी श्रद्धापूर्वक भोजन गराइन्छ । यो हाम्रो परम्परा हो । यो कुरा वेद, धर्मशास्त्र, स्मृतिशास्त्र, उपनिषद् आदिमा उल्लेख छ ।

देवताहरू ज्योर्तिलोक, दिव्यलोक, सूर्यलोक आदिमा वास गर्ने पुण्यात्मा र तृप्तात्माहरू हुन् भने पितृहरू चन्द्रलोकको माथिल्लो भागमा वास गर्ने अनन्त जीव समूह हुन्, जो पछि कालक्रममा ओस वा शीत बनेर मत्र्यलोकमा झर्दछन् र अन्न, वनस्पति आदिमा प्रवेश गरी प्राणीहरूको बीज एवं रक्तबाट पुनः भोगअनुसार शरीर धारण गर्दछन् । यो प्रसंग अध्यात्मरामायणको उत्तरकाण्ड र अन्य ग्रन्थहरूमा प्रशस्तै पाइन्छ ।

श्रीमद्भागवतगीताको अध्याय ८ का २३–२६ स्लोकहरूबाट यस धर्तीलोकबाट देह छोडी जाने पितृहरू वा पुण्यात्माको शुल्क गति र कृष्णगति भनी दुई किसिमको मार्ग तय गरिएको पाइन्छ । शुल्कमार्ग अर्थात् ज्योतिमार्गबाट जाने पुण्यात्मा, ज्ञानीजनहरू पुनर्जन्म र मृत्यु चक्करबाट पार पाउँदछन् । कृष्ण मार्गबाट जानेहरू चन्द्रमार्गबाट जानेहरू चन्द्रलोक पाउँछन् । तर फेरि फर्किनुपर्ने अर्थात् फेरि जन्म लिन यही लोकमा आउनुपर्ने उल्लेख छ । यहाँ उत्तरायण र दक्षिणायण, शुल्कपक्ष र कृष्णपक्ष अनि दिन र रात, ज्योति धूम आदिबाट छुट्ट्याउन खोजिएको पाइन्छ । जे होस्, आ–आफ्नो कर्मगतिले जो जुन बाटोबाट गएर जहाँ बसे पनि देवता, पितृ र अतिथिहरूलाई पर्व–पर्वमा मान्दै आएको देखिन्छ ।

पितृ तृप्ति उद्देश्यले गरिने श्राद्धहरू धेरै प्रकारका छन् । त्यसमध्ये दुईवटा मुख्य छन् । मरेको दिनमा गरिने श्रद्धा तर्पणलाई कोद्दिष्ट, क्षायाह आदिले पुकारिन्छ तर सोह्रश्राद्धमा गरिने श्राद्धलाई पार्वण पर्वको रुपमा गरिने विशेष श्राद्धको रुपमा लिइएको पाइन्छ । यसको विधान पनि अरु श्राद्धभन्दा लामै पाइन्छ । हरेक वर्ष सूर्यनारायण कन्याराशिमा बसेको बखत जुन गृहस्थीले पर्वश्राद्धको रुपमा पार्वण श्राद्ध गर्दैन, धन–सम्पति छोरा–छोरी सन्तान कसरी होलान् ?

सूर्ये कन्यांगते श्राद्धं यो न कुर्यात् गृहाश्रमी ।
धनापुत्राः कुतस्तस्य पितृनिश्वासपीडनात् ।।

वास्तवमा हामी सनातन धर्मावलम्बीहरूको धारणा र मान्यताअनुसार आयु, सन्तान, धन–सम्पत्ति, विद्या, स्वर्ग, मोक्ष प्रदान गर्न सक्ने पितृहरू हाम्रा लागि श्रद्धापूर्वक पूज्य र मान्यता हुन्छन्, यदि पितृ असन्तुष्ट भएमा देवता एवं भाग्यद्वारा पाइने उपरोक्त कुरा पनि हरण भएर जान्छ । वास्तवमा पितृहरू भनेका दिवंगत पूर्वजहरू हुन् । बाबुआमातर्फका तीनपुस्ते सन्तान अर्थात् सपिण्डभित्रका दिवंगत पूर्वजहरूलाई पितृ भनिन्छ । यी पूर्वजहरूले कुनै न कुनै रुपमा हामीलाई धन, सम्पत्ति, तन, मन, बुद्धिले जगेर्ना गरेर गएका हुन्छन् । उनीहरूकै सत्प्रयासस्वरुप हामीले पछिसम्म वात्सल्यमय जीवन, गाँस, बाँस, कपास अनि शिक्षा, दीक्षा पाएका हुन्छौं । यसैले पनि पितृलाई चटक्कै बिर्सनु कृतघ्नता हुन जान्छ । श्रद्धापूर्वक सम्झनु भनेको श्राद्ध हो । पितृका नाममा श्रद्धापूर्वक केही अर्पण गर्नु, वितृ प्रसादको रुपमा इष्टजनसहित सहभोजन गर्नु कृतज्ञताको द्योतक हो । सम्झना गरौं — हामी कृतघ्न बन्ने कि कृतज्ञ बन्ने ?

अरु श्राद्धभन्दा पार्वणको बेग्लै महत्व हुँदोरहेछ । देवलोक, पितृलोक, मत्र्यलोक आदिको पर्व साँठगाँठ नियामक सूर्य र चन्द्रमाबाट विशेष रुपबाट बन्दछ । उत्तरायण देवताको दिन, दक्षिणायण देवताको रात, दक्षिणायण पितृको दिन र उत्तरायणको रात । यसै गरी शुक्ल पक्ष देवष्क्ष र कृष्ण पक्ष पितृपक्ष । सूर्यको दर्शन मिले दिन, सूर्यको दर्शन नपाए रात । त्यस्तै पूर्णचन्द्र शक्लपक्ष, कृष्णचन्द्र अँध्यारो कृष्णपक्ष । सूर्यचन्द्रको गति तारतम्यले कन्यामा सूर्य बसेको बेलामा शरदऋतुको प्राकृतिक सुन्दरता र रमणीय बेला हो । यसबेला देवता र पितृहरू आमनेसमाने पर्ने सम्भावना देखिन्छ । यसैले यो पार्वण श्राद्धमा देवतासँगै पितृहरूलाई आह्वान गरिने हुँदा यो पर्वविशेषलाई पार्वण श्राद्ध भनिएको हो । यसमा देव ब्राह्मण र पितृ ब्राह्मणहरू छुट्टाछुट्टै राखेर सत्य भएर देव बा्रह्मण र अपसत्य भएर पितृ ब्राह्मणहरूको पूजाआजा गरिन्छ । अरु एकोद्दिष्ट श्राद्धमा एउटा पितृको नाममा एउटा मात्र पिण्ड दिइन्छ तर यस पार्वण श्राद्धमा आमाबुबा दुवै पक्षका सम्पूर्ण पितृहरूलाई पिण्डदान गरिन्छ । अरू श्राद्धमा स्वाहा र स्वधा चल्दछ । यसैले देवतासंग बसेर वा आमनेसामने भएर श्राद्ध भोजन पाउने हुँदा पितृहरू विशेष हर्षित हुन्छन् भन्ने जनविश्वास छ । हर्षित पितृहरूाटे सुख, सम्पत्ति र सन्तान सुख मिल्दछ ।

वैदिक सनातन धर्मावलम्बीहरूले मात्र पितृलाई मान्दैनन्, संसारका हरेक धर्मावलम्बीले आ–आफ्नै तरिकाले पितृहरू प्रति श्राद्ध गर्दा रहेछन् । कतिपय चिनियाँ एवं क्रिश्चियनहरू मृत शरीरलाई जमिनमा गाड्छन्, गाडेका ठाउँमा भोग्य वस्तु चढाउने गर्छन् । अमेरिका, चीनमा चिहान राख्ने हजारौं एकड जमिन छन् । क्षमताअनुसार चिहान सजाएका देखिन्छन् । त्यहाँ पनि आ–आफ्ना तालिकाअनुसार फूलका गुच्छा, माला, फलफूल, खाद्य पदार्थ चढाएर भावविभोर हुँदै ढोगिरहेको देख्न पाइन्छ । चिनियाँ मूलका व्यक्तिहरू सिंगापुर, मेसिया र अन्यत्र पनि मृत शरीरलाई जमिनमा गाड्ने, आगोमा जलाउने, काटेर जनावरहरूलाई खुवाउने, पानीमा बगाउने आदि हुँदोरहेछ । त्यसपछि केही सम्प्रदायका घरबाहिर खोपा, आँगन वा निश्चित ठाउँमा पितर स्थपना गरेर पानी, भात र पिठोको विशेष प्रकारका डल्ला रोटी, मासु र फलफूलसमेत अपर्ण गर्दारहेछन् । तरिका फरकफरक भए पनि संसारका मानिसहरू मृतात्माप्रति कृतज्ञता प्रकट गरी कुनै न कुनै काम गरिरहेका छन् । यही नै सम्झना र कृतज्ञताको ऐतिहासिक परम्परा हो ।

वैदिक सनातन धर्मावलम्बीहरूले गर्ने श्राद्धमा तर्पण जलदान गरिन्छ । अर्घमा जौ, तील, दूध, दही राखेर माझी औंलाबाट पानी खसाल्दै देवऋषिहरूलाई जल दिइन्छ, सत्यअपसत्य जनै, सिधा राखेर कान्छीऔंलाको फेदबाट प्रथम पुरुषहरू सनकादि ऋषिलाई तर्पण दिइन्छ । अपसत्य भएर बूढीऔंलाको फेदबाट दिव्यपितृहरू र आफ्ना सम्पूर्ण पितृजनलाई जलदान गरिन्छ । श्राद्धकर्ताको चीसो कपडा निचोरेर आफ्ना गोत्रका अपुत्र, छोरी, छोरा नभएका, पिण्डपानी नपाएकालाई पनि जलदान गरिन्छ । श्राद्ध कर्म उदात्त भावनाले सम्पूर्ण चराचर जगत्का प्राणीलाई तृप्त गराउने शाश्वत चिन्तन र व्यवहार हो ।

श्राद्धमा ब्रह्मा सृष्टिकर्तादेखि आजपर्यन्त सम्पूर्ण लोकका प्राणी र वनस्पतिहरूलाई सद्भाव र श्रद्धाले जलपिण्ड अर्पण गरिन्छ, जुन श्राद्धकर्म सबैलाई तृप्त गराउने कल्याण भावनाको द्योतक हो ।

स्रोत
भरतमणि रिसाल
www.annapurnapost.com