भृङ्गारेश्वर महादेव

 ॐ भृङ्गारेश्वराय नमः

१. श्री भृङ्गारेश्वर महादेवको संक्षिप्त परिचयात्मक विवरण
ॐ नमः भृङ्गारेश्वराय । श्री भृङ्गारेश्वर महादेव नेपालमा प्राप्त भएका विभिन्न नामका महादेवहरुमध्ये अति प्राचीन महादेव हो । अति प्राचीन महादेवमा श्री पशुपतिनाथलाई पनि लिने गरिन्छ । गोपालराजवंशावली अनुसार नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेवको प्रादूर्भाव पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने उल्लेख रहेको छ (श्री धनबज्र बज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेख, नेपाल एशियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, पेज १९) । श्री भृङ्गारेश्वर शिवलिङ्ग चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग मध्ये एक स्वयम्भू सिद्धज्योतिर्लिङ्ग हो । यसरी यो मानव निर्मित नभई आफै उत्पन्न भएको ज्योतिर्लिङ्ग रुपमा मानिएको छ । यो शिवलिङ्ग हिमाल पहाडको काखमा रहेको घनाजंगल भएको भूमण्डलमा (नेपाल उपत्यकामा) श्री भृङ्गारेश्वर महादेव प्रादुुर्भाव भयो भनी लेखिएको छ । यसरी श्री भृङ्गारेश्वर महादेव नेपालमा प्राप्त महादेवहरुमा अति प्राचीन महादेवको रुपमा गणना गरिन्छ ।

श्री भृड्डारेश्वर महादेव
भक्तजनहरुको मनोकांक्षा पूर्ण गर्ने अति प्राचीन महादेव

श्री भृङ्गारेश्वर महादेवलाई विभिन्न नामले पुकारिएको छ । सर्वप्रथम त भृङ्गारेश्वर, भृङ्गेश्वर, भृङ्गेश, भीमभृङ्गेश्वर, भृङ्गीश्वर र सुवर्णेश्वर आदि  (भृड्डारेश्वर श्री धनबज्र बजाचार्यले लेख्नु भएको लिच्छविकालका अभिलेख, शिवदेवको अभिलेख, पेज ५२१, भृड्डेश्वर, भृड्डेश मध्यकालको अभिलेख, पे.नं. ५२ र ५३ मा भीमभृड्डेश्वर मध्यकालका अभिलेखको सुनागुठी (श्री सिद्धिमंगलादेवी) भृड्डेश्वरको अभिलेख, पेज २५८, भृड्डीश्वर, भाषावंशावलीको पृष्ठ २८ र सं.डा.स्वामी प्रपन्नाचार्यबाट लिखित चौसठ्ठी शिवलिड्डको विश्लेषणात्मक अनुसन्धान पेज २२९मा, सुवर्णेश्वर, भाषावंशावलीको पेज २८ मा) । ती नामहरुको यथास्थानमा उल्लेख रहे तापनि लिच्छविकालीन अभिलेखमा भीमार्जुनदेव + विष्णु गुप्तको अभिलेख भृङ्गार ग्राम पांचाली उल्लेख भई भृङ्गार मात्र उल्लेख भएको पाइन्छ भने श्री शिवदेव द्वितीयको अभिलेखमा स्पष्ट रुपमा भृङ्गारेश्वर भनी उल्लेख भएको देखिन्छ । नेपालमा प्राप्त वंशावलीमा सबैभन्दा पुरानो वंशावली गोपालराजवंशावलीमा भृङ्गारेश्वरका नाम उल्लेख भएको हुँदा अन्य नामहरुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहे पनि प्राचीनता तथा थालनीको दृष्टिले भृङ्गारेश्वरको नाम नै अगाडि आएको तथ्य स्पष्ट छ ।

श्री भृङ्गारेश्वर महादेवको मन्दिर ललितपुर जिल्लाको दक्षिण भेगको सुनाकोठी गा.वि.स. मा रहेको छ । सुनाकोठीको पहिले पहिलेको नाम सुरुंथिग्रथि शुरगुथि (श्री धनबज्र बज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेखको सुनागुठी भृड्डेश्वरको अभिलेख पेज २५८ मा, र सुनागुठी खाइजटोलको चैत्यको सिंढीमा गाढिएको अभिलेख), सुनागुथि आदि रहेको पाइन्छ । यो ठाउँ ललितपुरको मंगलबजारबाट करीब ४ किलोमिटर टाढा रहेको छ । ललितपुरको लगनखेलबाट विभिन्न टेम्पो, माइक्रोवस तथा बसहरुबाट सजिलैसँग मन्दिरको ढोकैमा ओर्ली श्री भृङ्गारेश्वर महादेवको दर्शन गर्न जान सकिन्छ । भक्तजनको इच्छा अनुसारको फलदिने र मोक्ष प्रदान गर्ने श्री भृङ्गारेश्वर महादेव, अति पूजनीय महादेवको दर्शन, पूजा पाठ गर्नाले पूर्व जन्मको पापबाट समेत मुक्ति मिल्छ भन्ने उल्लेख पाइन्छ ।

सुनाकोठी (सुरंथिग्रथि शुरगुथि सुनागुथि सुनागुठी) को वस्ती
सुनाकोठी (सुरंथिग्रथि शुरगुथि सुनागुथि सुनागुठी) को वस्ती

ललितपुर नगरको दक्षिण भेगको सुनागुठीमा अवस्थित श्री भृङ्गारेश्वरको वर्तमान मन्दिर गुम्वज शैलीमा निर्मित मन्दिर हो । यो भृङ्गारेश्वर महादेव मन्दिर ढलौटमा सुनको जलप लगाइएको गुम्वज शैलीको छाना, इँटाको गाह्रो, चारैतिर ढोका भएको सुन्दर मन्दिर हो । प्राचीन समयका मन्दिरका ढुङ्गाहरु केही गर्भगृहमा केही संघार आदिमा लगाइएका छन् । श्री भृङ्गारेश्वर महादेवको चारै तर्फ करीव २१ फीट लमाइ १.५ फीट चौडाइ र २० इञ्च उच्चाइ भएको कालो ढुङ्गाको सत्तरीमा पुरानो मन्दिरको टुंडाल खम्वाहरु अद्याउन चिन्ह कोरिएको कलात्मक ४ वटा ढुङ्गाहरु छन् । ती ढुङ्गाहरुलाई मात्र दृष्टिगत गर्दा पनि पहिलेको मन्दिर निकै नै भव्य होला भन्ने अनुमान गर्न सकिन्छ ।

श्री भृड्डारेश्वर महादेवको वर्तमान मन्दिर
श्री भृड्डारेश्वर महादेवको वर्तमान मन्दिर (वि.सं. २०६९ सालमा खिचिएको)

श्री भृङ्गारेश्वर महादेवको पहिलेको मन्दिर वि.सं.१९९० सालको महाभूकम्पबाट पूर्णरुपमा भत्केको हुंदा यो मन्दिर पुनः निर्माण गरिएको छ । यस भन्दा अगाडि संभवतः ललितपुरका राजा विष्णुसिंहले आफ्ना पिता राजा कुसुमसिंहलाई समर्पण गर्नु भई ने.सं. ६७४ (वि.सं.१६१०) माघ शुक्ल पंचमी सोमवारका दिन शिवयोगमा महादेवको निमित्त यो दोष नभएको मन्दिर वनाउनु भएको थियो (श्री धनबज्र वज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेख, भृड्डारेश्वर सम्बन्धी विष्णुसिंहको अभिलेख पेज १५) । यो मन्दिर ब्रह्मा विष्णु महेशलाई पूजा गर्नमा आनन्द लिने राजा विष्णुसिंहले संसारको खूप कल्याण गर्ने महादेवको मन्दिर कल्याण होस् भन्नाको निमित्त निर्माण गराउनु भएको थियो ।

विष्णुसिंह राजाले महेश्वरलाई समर्पण गरेको यो मन्दिर सुमेरुसंग जोडका तोड गर्दछ । महादेवको यो असल मन्दिर यहां सुहाइरहेछ । सुमेरु पहाड नै एउटा मात्र थुनले भएको पृथ्वीको ठूलो अशोभालाई यसले मेटिदियो (श्री धनबज्र वज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेखको भृड्डारेश्वर सम्बन्धी विष्णुसिंहको अभिलेख पेज १४) । यी वर्णनहरुबाट के स्पष्ट हुन्छ भने यो मन्दिर निकै भव्य सुन्दर तथा कलात्मक मन्दिर होला भन्ने अनुमान गर्न सकिन्छ । यो अनुमान (हाल सम्म) अद्यावधि रहेको दुई वटा विशाल तथा कलात्मक टुंडालहरुबाट पनि केही न केही थाहा पाउन सकिन्छ । टुंडालहरुलाई दृष्टिगत गर्दा यो मन्दिर कम्तीमा तीन तलाको पगोडा शैलीको छाना भएको मन्दिर हुन सक्ने अनुमान गर्नु अनुपयुक्त नहोला जस्तो लाग्छ ।

श्री भृड्डारेश्वर महादेवको पुरानो मन्दिरको कलात्मक दुई टुँडालहरू
श्री भृड्डारेश्वर महादेवको पुरानो मन्दिरको कलात्मक दुई टुँडालहरू

यस देव मन्दिरको वर्णनको क्रममा अभिलेखमा यसरी उल्लेख गरिएको छ । पूर्व पश्चिम मलयाचल (दक्षिण) हिमालय (उत्तर) का आइमाईहरुको फूलले ढाकिएको जुन मन्दिरमा गंगा माला जस्तै हुन्छिन् । चन्द्रमा चांदीका घडा जस्ता हुन्छन्, सूर्य श्रीपेच जस्ता हुन्छन् । मेघ कस्तुरीको टीका जस्तै हुन्छ । ताराहरु हार जस्तै हुन्छन् । थाकेका सूर्यका घोडाहरु जहां थकाइ मार्छन्  ( श्री धनबज्र वजाचार्यले लेख्नु भएको मध्यकालका अभिलेखको भृड्डारेश्वरको विष्णुसिंहको अभिलेख पेज १४)

श्री भृङ्गारेश्वर महादेवको मन्दिरको सम्बन्धमा श्री धनबज्र बज्राचार्यज्यूले आफ्नो अभिलेख ग्रन्थमा राम्रो चर्चा गर्नु भएको छ – ”विष्णुसिंहले श्री भृङ्गारेश्वर महादेव मन्दिरको जीर्णोद्धार गरिदिएको हुंदा भृङ्गारेश्वरको प्रसिद्धिले पुनर्जन्म पायो, यो नै खुशीको कुरा हो । विष्णुसिंहले मन्दिर भव्य रुपमा बनाउन लाएको देखिन्छ । मन्दिर निकै अग्लो बनेको बुझिन्छ । काव्यमय अतिशयोक्तिपूर्ण वर्णन  यस अभिलेखमा परेको  छ तापनि मन्दिर अग्लो बनेको थियो भन्ने कुरामा चाहिं शंका छैन । प्रसाद रत्न सुमेरुसंग दांचो लाग्दो आदि वर्णनले मन्दिरको छाना सुनले मोलम्वा गरी बनाइएको आभास पाइन्छ (श्री धनबज्र वजाचार्यले लेख्नु भएको मध्यकालका अभिलेखको भृड्डारेश्वरको विष्णुसिंहको अभिलेख पेज १९)

यसरी विष्णुसिंहले बनाएको यस महादेव मन्दिरको सम्बन्धमा केही केही जानकारी प्राप्त हुन आएको छ तापनि, त्यो भन्दा अगाडिको र लिच्छविकालीन समयको मन्दिरको सम्बन्धमा विस्तृत रुपमा केही भन्न सकिने स्थिति नभए तापनि शिवदेव द्वितीयको अभिलेखमा भृङ्गारेश्वर देवमन्दिरको स्थितिको लागि उल्लेख भएबाट त्यसताका पनि मन्दिर भव्य हुनाको साथै व्यवस्थित रुपमा संचालन रहेको हुन सक्ने र अझ राम्रो व्यवस्था बनाउनको लागि त्यस देवमन्दिरको स्थिति वन्दोवस्त आदि व्यवस्था गर्नु पर्ने धारणालाई स्पष्ट रुपमा प्रस्तुत गरिएको बोध हुन आँउछ ।

यो मन्दिर भित्र तीन फुट जति अग्लो अलि ढल्केको शिवलिङ्गको माथिल्लो भाग केही अंश उछिटिएको जस्तो, करीव १० इञ्च जतिको  अलि चुच्चो गोलो परिधिको, प्राचीनतम स्वरुपको फुस्रो कालो प्राचीन शिवलिङ्ग हो । शिवलिङ्ग हेर्दैमा प्रभावशाली, आकर्षक र दर्शनीय देखिन्छ । यो भृङ्गारेश्वरको शिवलिङ्ग र जलहरीलाई दृष्टिगत गर्दा यो ब्राह्म संम्प्रदायको शिवलिङ्ग हो भन्ने स्पष्ट देखिन्छ । अहिलेसम्मको खोज र अनुसन्धानमा शिवलिङ्ग र जलहरी दुबै ब्राह्म सम्प्रदायको भएको यही नै हो । जलहरी चारपाटे शैैलीमा छ । जलहरीको आकार करीव ५ह५ फुटको छ । शिवलिङ्ग कमलको पूmलमाथि रहेको छ । कमलको पूmलको बनावट निकै सुन्दर हुनुको साथै कलात्मक तथा प्राचीन देखिन्छ । जति दर्शन गरे पनि दर्शन गरुं गरुं लाग्ने यो सिद्ध शिवलिङ्ग हो । प्राचीन शिवपूजक सम्प्रदायहरुमा सबै भन्दा पहिले ब्रह्माले पूजन गरेको ब्राम्ह सम्प्रदायको शिवलिङ्ग हो (श्री सं डा. स्वामी प्रपन्नाचार्यले लेख्नु भएको चौसठ्ठी शिवलिड्डको विश्लेषणात्मक अनुसन्धान, पेज २२९)

श्री भृङ्गारेश्वर मन्दिर सुनागुठी (सुनाकोठी) को बीचमा अवस्थित छ । यस मन्दिर देखि पूर्व पट्टि गणेश मन्दिर, दक्षिणमा पुजारी बस्ने घर, मन्दिरको दक्षिण पट्टि छेवैमा कीर्तिमुख भैरव, नैऋत्य कोणमा जगन्नाथ मन्दिर, पश्चिममा मन्दिरको छेवैमा सिंहहरु त्यसपछि विशाल तथा अति कलापूर्ण नन्दी, ठूलो त्रिशूल र धर्मशाला छन् । उत्तर तर्पm ईशानकोणमा ३२ हात गहिरो इनार छ । यस इनारलाई ज्ञानवापीकुण्ड वा ज्ञानकुण्ड भन्दछन् । श्री भृङ्गारेश्वर महादेवलाई यही ज्ञानवापीकुण्डको पानीले स्नान गराइन्छ । सो स्नानबाट जम्मा हुने पानीको कुण्डलाई जलकुण्ड भन्दछन् । यसको साथै उत्तरतर्फ कुमारीको सुन्दर मन्दिर छ । यस विशाल परिसर भित्र शिलाको अनेकौ मूर्तिहरु तथा शिला अभिलेखहरु यत्रतत्र रहेका छन् ।

श्री गणेश मन्दिर  श्री जगन्नाथ मन्दिर
श्री जगन्नाथ मन्दिर
 श्री भृड्डारेश्वर महादेवको भजन गर्ने धर्मशाला
श्री गणेश मन्दिर श्री भृड्डारेश्वर महादेवको भजन गर्ने धर्मशाला

सुनाकोठीको प्रसिद्ध श्री बालकुमारी मन्दिर

श्री भृङ्गारेश्वर ज्योतिर्लिङ्ग महादेवको महिमा अपरम्पार छ । यस महादेवको गुणगान वर्णनहरु जति गरेपनि थोरै हुन्छ । यस महादेवको सेवा गर्ने  भक्तको कल्याण गर्ने, भय हर्ने तथा भक्तजनहरुलाई इच्छा अनुसारको फल दिने र मोक्ष प्रदान गर्ने, संसार सागरको ठूलो भय हर्ने, सम्पतिको स्थान भएका, सत्पद भएका, गहिरो आनन्द दिने, पुण्य दिने, ऐश्वर्य दिने, लोकको हित गर्ने, परम्पद प्रदान गर्ने, शिवलोकवास गराउने, श्राप हरण गर्ने, आजन्म गरेको पापबाट मुक्त गर्ने भनी विभिन्न पुराण, अभिलेख तथा ग्रन्थहरुमा उल्लेख गरिएको पाइन्छ । यस अतिरिक्त  जोसुकै पनि यस ठाँउमा पुण्यभूमिमा आई प्राण छाड्छ भने त्यो कुनै योनीमा जन्म लिन नगई सोझै शिवलोक गई वास बस्न पाउँदछ  भनी उल्लेख गरिएको देखिन्छ (श्री मधुसूदन, पं. कृष्ण प्रसाद खनालले लेख्नु भएको नेपाल अधिराज्यको चतुषष्ठिः स्वयम्भू सिद्ध ज्योतिर्लिड्ड एवं पशुपति दर्शन महिमा, पेज १७०) । यस अतिरिक्त यस शिवलिङ्गलाई स्नान गराई पूजा पाठ गर्नेहरु र यस लिङ्गको कथा सुन्ने÷सुनाउनेहरु सबै यसलोकमा सुख सम्पति पाई परलोकमा कैलाशवासी हुने छन् (श्री पं. चित्रप्रसाद सुवेदीले लेख्नु भएको श्री सचित्र शिव स्वस्थानी व्रत कथा, पेज १७४) । यसरी नै यस शिवलिङ्गको दर्शन मात्र गर्नेहरु पनि सुख आनन्द प्राप्त गर्दछन् । संक्षेपमा तीनै लोकको हित गर्ने, इच्छानुसारको फल दिने र मोक्ष प्रदान गर्ने श्री भृङ्गारेश्वर महादेवको चरणकमलमा वन्दना गरी भित्री हृदयले पवित्र भावले स्मरण गर्नाले सुख आनन्द प्राप्त हुने कुरा सर्वथा निश्चित छ ।

२.  अभिलेखहरुमा वर्णित महत्वपूर्ण विवरणहरु
यसमा मूलतः दुई कालखण्डका पहिलो लिच्छविकाल र दोश्रो मध्यकालका ६ वटा अभिलेखहरु समावेश गरिएका छन् । लिच्छविकालका दुई अभिलेखहरुमा संवत ६५ को भृङ्गारेश्वरको भीमार्जुनदेव + विष्णुगुप्तको अभिलेख र संवत् १२१ को भृङ्गारेश्वरको शिवदेवको अभिलेखको महत्वपूर्ण विवरणहरु तथा त्यस्तै मध्यकालको अभिलेखहरुमा ने.सं. ६७४ को भृङ्गारेश्वरको विष्णुसिंहको अभिलेख, ने.सं ७३५ को पाटन सुनागुठी भृङ्गारेश्वर महादेव मन्दिरको शिलालेख, ने.सं. ७३९ को सुनागुठी भृङ्गारेश्वरको अभिलेख र ने.सं. ८०६ को सुनागुठी भृङ्गारेश्वरको अभिलेख (श्री सिद्धिमंगलादेवी)को महत्वपूर्ण विवरणहरु प्रस्तुत गरिएका छन् ।

२.१. लिच्छविकालका अभिलेख
लिच्छविकालमा भृङ्गारेश्वर सम्बन्धी दुईवटा अभिलेख प्रकाशमा आएका छन् । ती दुई अभिलेखहरुबाट भृङ्गारेश्वर महादेवको स्थापना ती अभिलेखहरुको समय भन्दा अगाडि नै भइसकेको तथ्य स्पष्ट हुन आउँछ ।

श्री भृड्डारेश्वर महादेवको पश्चिममा रहेको दुई लिच्छविकालीन अभिलेखहरु

२.१.१. भृङ्गारेश्वरको भीमार्जुनदेव + विष्णुगुप्तको अभिलेख
भट्टारक महाराज भीमार्जुनदेव र उहाँको समयमा रही काम गर्ने श्री विष्णुगुप्तले संवत् ६५ फागुन शुक्ल द्वितीयमा राखेको अभिलेखको यस अभिलेखमा भृङ्गार ग्रामका पांचालिकहरुले भन्ने उल्लेख छ । यसबाट यहाँ भृङ्गारेश्वर महादेव अवस्थित थियो र भृङ्गारेश्वर महादेवको नामबाट भृङ्गार ग्राम पांचालिकको उल्लेख हुन गएको तथ्य बोध हुन आउँछ । सो भृङ्गार ग्रामका पांचालिकहरुले ठूलो खुशीसाथ कशष्ठी विष्टि (झारा) को भारी ल्याउने काममा आश्चर्यको मूर्ति बनाउन लाएको ढुङ्गा तान्नमा लाएका भन्ने उल्लेख भएको छ । यसबाट भृङ्गारेश्वर भेकको बासिन्दाहरुले पनि बुढानीलकण्ठ नारायणको मूर्ति बनाउन ढुङ्गा तानेर ल्याई दिएका रहेछन् भन्ने तथ्य थाहा पाइन्छ । यस अतिरिक्त भृङ्गारेश्वर भेकका वासिन्दाहरुलाई राज्यबाट स्वायत्त शासन सम्बन्धी अधिकार दिइएको कुरा अभिलेखमा उल्लेख छ ।

२.१.२. भृङ्गारेश्वर शिवदेवको अभिलेख
यो परमभट्टारक महाराजाधिराज श्री शिवदेवले संवत् १२१ भाद्र शुल्क पंचमीमा राखेको अभिलेखको यस अभिलेखमा भृङ्गारेश्वर सम्बन्धी धेरै कुराहरुको उल्लेख पाइन्छ । यसमा उल्लेखित भृङ्गारेश्वर देव मन्दिरको स्थितिको लागि भन्ने वाक्यांशले यहाँ भृङ्गारेश्वर महादेव र त्यसबेला पनि भृङ्गारेश्वर महादेवको मन्दिर निमार्ण भैसकेको तथ्य स्पष्ट हुन आउँछ । यतिमात्र होइन राज्यको तहबाट मन्दिरको स्थितिको लागि केही व्यवस्थाको आवश्यकता महसूस भई केही व्यवस्था भएको हुनु पर्छ भन्दा अत्युक्ति नहोला । वास्तवमा त्यसताका पनि भृङ्गारेश्वर महादेव प्रसिद्ध महादेव भएको तथ्य यसले स्पष्ट गर्दछ । यसरी नै देव मन्दिरको पांचालिक पनि उल्लेख भएबाट भृङ्गारेश्वर महादेवको नामबाट यस भेकको लागि भृङ्गारेश्वर पांचालिकको व्यवस्था रहेको तथ्य पनि स्पष्ट हुन आउंछ । यसको  साथै भृङ्गारेश्वरका पांचालिकहरुलाई ग्राम, पानी, धारा, कुलो आदिको व्यवस्थाको लागि राज्यतहबाट सहयोगको निगाहा भएको देखिन्छ । साथै दान दिनु भन्दा अरुले पहिले दान दिएको कुरा थाम्नु उचित भन्ने भनाइले यस मन्दिरको लागि पहिले पहिले पनि दान दिएको र शिवदेव स्वयम्ले पनि जग्गा प्रदान गरेको हुन सक्ने संकेत मिल्दछ ।

२.२. मध्यकालका अभिलेख
मध्यकालमा भृङ्गारेश्वरको सम्बन्धमा चारवटा अभिलेखहरु प्रकाशमा आएका छन् । ती चार अभिलेखहरुमा विष्णुसिंहको अभिलेखमा भृङ्गारेश्वर नै उल्लेख गरिएको पाइन्छ भने अरु अभिलेखहरुमा भृङ्गेश्वर आदि अन्य नामहरु समेत उल्लेख भएको पाइन्छ ।

श्री भृड्डारेश्वर महादेवको परिसरमा रहेका अभिलेखहरु

२.२.१. भृङ्गारेश्वरको विष्णुसिंहको अभिलेख
मध्यकालका अभिलेख ग्रन्थमा भृङ्गारेश्वर सम्बन्धी अभिलेखहरुमा विष्णुसिंहको अभिलेख पहिलो हो यो अभिलेख ने.सं. ६७४ (वि.सं. १६१०) माघ शुल्क पंचमी सोमवारको दिन शिवयोगमा महादेवको निमित्त विष्णुसिंहले यो दोष नभएको मन्दिर बनाउनु भएको थियो । यो अभिलेखको सुरुबाट ॐ नमः भृङ्गारेश्वरायबाट भएको छ । यसमा महादेवको वर्णन यसरी गरिएको छ । जसका शिरमा गंगा छन्, टिकाचन्द्रमा छन्, निधारमा अग्नि छन्, घांटीमा हलाहल विषको थुप्रो छ, वस्त्र दिशा छ, गहना खरानीको धूलो छ, बाजु शेषनाग छन्, ब्रम्हाविष्णुले चरणकमल ढोगिएका छन्, यस्ता महादेवलाई राजा विष्णुसिंह बारबार ढोग्नु हुन्छ । यसै क्रममा महादेवलाई नमस्कार गर्दै यसरी वर्णन गरिएको छ । पाँच मुख भएका कामदेव रुपी ठूलो हात्तीमा सिंह जस्तो भएकाले परमेश्वर ब्रह्माजीका शिरका गहनाका किरणले झलमल्ल पाउ भएका हजूरलाई नमस्कार छ । चन्द्र शेखर हे पशुपति हजूरलाई नमस्कार छ । हजूरबाट राजामा श्रेष्ठ राजा विष्णुसिंहको कल्याण होस् । यसरी विष्णुसिंहको आफ्नो कल्याणको कामना गरी यो भृङ्गारेश्वर मन्दिर निर्माण गर्नु भएको देखिन्छ । यस अभिलेखबाट विष्णुसिंह परम शिवभक्त थिए भन्ने बोध हुन आउछ । यसरी नै ब्रह्माविष्णु महेशलाई पूजा गर्नमा आन्नद लिने राजा विष्णुसिंहले संसारको खूप कल्याण गर्ने महादेवको मन्दिर आफ्नो कल्याणको निमित्त मात्र होइन साराको कल्याण होस् भन्ना निमित्त बनाउनु भएको देखिन्छ । राजा विष्णुसिंहले समर्पण गरेको यो मन्दिरको वर्णन गर्दै यस मन्दिरको तुलनामा सुमेरुसँग जोडकातोड गर्दछ भन्ने उल्लेख गरेका छन् । यसरी यो मन्दिर निकै भव्य थियो भने झलक यसबाट देखिन्छ । यस मन्दिरको प्रशंसाका साथ असली मन्दिरको रुपमा चर्चा गर्दै सुमेरु पहाड नै एउटा मात्र थुनले भएको पृथ्वीको ठूलो शोभालाई जसले मेटिदियो भने उल्लेख गरिएको छ । यस मन्दिरलाई भव्य मन्दिरको रुपमा सिंगार्दै वर्णन माथि पनि गरिसकिएको छ ।

कालान्तरमा मध्यकालको उत्तराद्र्धमा पुग्दा भृङ्गारेश्वर महादेव हुन् भन्ने कुरा समेत जनताले विर्सिसकेको देखिन्छ । यो कुरा विष्णुसिंहको यस अभिलेखबाट थाहा पाइन्छ । यहाँ श्री महादेव के नाउँ भएका होलान् भनी ज्यादै आकुल मन भएका राजा विष्णुसिंहले यहाँ कुवा किन रहेको होला भनी झ्वाटृ तर्कना गर्नु भयो र हे मानिसहरु हो खोज त खोज भन्नु भयो । त्यस पछि कुवाबाट अक्षर सहितका तामाका घडाहरु बाहिर निस्के । ती घडाहरुमा श्री भृङ्गारेश्वर महादेव भनी लेखिएको देखेर राजा खुशी हुनु भयो भनी चर्चा गरिएको छ । हाल भृङ्गारेश्वर महादेवको प्रसिद्धि पनि दिनानुदिन बढ्दै गइरहेको तथ्य दृष्टिगोचर हुन्छ । भृङ्गारेश्वर महादेव मन्दिरको जीर्णोद्वार गरि दिएको हुँदा भृङ्गारेश्वर प्रसिद्धिले पुनः जन्म पायो । यो नै खुशीको कुरा छ  भनी धनबज्र बज्राचार्यले विष्णुसिंहको अभिलेखको व्याख्याको क्रममा चर्चा गर्नु भएको छ । यसरी प्रायः लुप्त भएको अति प्राचीन महादेव श्री भृङ्गारेश्वर महादेव पुनः जगतको सामु देखा पर्नु भएको छ ।

२.२.२. पाटन सुनागुठी भृङ्गारेश्वर महादेव मन्दिरको शिलालेख
यो शिलालेख ब्राह्मण नारायणको छोरा ब्राह्मण महादेवले ने.सं. ७६५ (विं.सं. १६७२) चैत्र शुल्क पूर्णिमा सोमवार चित्रा नक्षत्रमा भृङ्गारेश्वर नजिकै कुमार गणेशलाई स्थापना गर्नु भई श्री भृङ्गारेश्वरको आराधना गरी राखेका थिए । यो शिलालेखको शुरुबाट ॐ नमः शिवायबाट भई पार्वती सहित महादेवलाई नमस्कार गरी सबैको शुभ होस् भनी अन्त्य गरिएको छ । ब्राह्मण महादेव भृङ्गारेश्वर महादेवका परम भक्त थिए । यो अभिलेखमा श्री भृङ्गारेश्वरको सट्टामा भृङ्गेश्वरको प्रयोग भएको पाइन्छ । यसरी नै भृङ्गारेश्वरलाई भृङ्गेश्वरको रुपमा  उल्लेख गरेको देखिन्छ । यसरी भृङ्गारेश्वरबाट भृंङ्गेश्वरको रुपमा किन राखियो, यो एउटा गहन अध्ययनका विषय हुन गएको छ । यस अभिलेखमा भ्रमरारुपी श्री भृङ्गेश्वर महादेवको चरण कमललाई ब्रह्मा आदि देवताहरु पनि भज्दछन् भनी लेखिएको छ । यसमा भ्रमरारुपी संवोधन श्री भृङ्गेश्वर महादेवलाई दिएको सम्बन्धमा विचारणीय कुरा रहेको देखिन्छ । यसले अवश्य पनि केही केही कुराको संकेत गर्दछ । यो भृङ्गी, भृङ्गार शब्दसँग पनि यसको सम्बन्ध गाँसिएको छ कि भन्ने अर्थ पनि देखिन आउँछ । यसरी नै मुनि सिद्धगणहरु पनि भोग र मोक्षको लागि भज्दछन् भनी भनिएबाट श्री भृंङ्गेश्वर महादेव सुख सम्पत्ति आदि भोग तथा मोक्ष प्रदान गर्ने महादेवको रुपमा पनि  लिएको देखिन्छ । ठूला विद्वान् असल ब्राह्मण भट्ट नारायण शर्माले भृङ्गेश्वरलाई शुद्ध भक्तिले त्रिशूल चढाए । नैवेद्य चढाउनका लागि असल खेत र फूलको लागि पूmलवारी चढाए । कार्तिकमा सुनको त्रिशूल चढाउनको लागि पनि प्रवन्ध गरिएको भन्ने उल्लेख भएबाट यो सुुनको त्रिशूल हाल पर्वमा प्रदर्शित गरिने सुुनको मोलम्वा लगाएको त्रिशूल र यो एकै हो होइन अध्ययन विषय बन्न गएको छ । यसरी नै नैवद्य चढाउनको लागि असल खेत र फूलको लागि फूलबारी र कार्तिकमा बत्ती दिन पनि भक्ति पूर्वक खेत चढाए भन्ने उल्लेख स्पष्ट रुपमा गरिएको छ ।

यस अतिरिक्त गणेश, कुमार र महादेवको ध्वजारोहण गरी यात्रा गर्नको लागि खेत गुठी राखियो । यो सबैको हेरविचार गरी सहर्ष उत्सव गर्नु भनी उल्लेख गरिएको देखिन्छ । यसरी व्यक्ति विशेषले राखिएको यो अभिलेखले श्री भृङ्गेश्वर महादेवको सम्बन्धमा धेरै कुराको जानकारी दिएको देखिन्छ ।

२.२.३. सुनागुठीको भृङ्गारेश्वरको अभिलेख
यो अभिलेख कृष्णदेव ब्राह्मणले नेपाल संवत् ७३९ (वि.सं.१६७५) माघ कृष्ण पंचमी हस्त नक्षत्र धृतियोग आदित्यवारमा आफूलाई पुण्य होस् भनी परमेश्वरलाई प्रसन्न पार्न श्री–श्री–श्री भृंगेश्वर सदाशिवलाई सुनको छत्र बनाई प्रतिष्ठा गरिएको देखिन्छ ।

यो अभिलेख ॐ नमः शिवायबाट शुरु गरिएको छ । यसरी महादेवलाई नमस्कार गरी सधैं आनन्द स्वरुप शरीर भएका जसले हरबखत झरी रहेको पचासले शब्दार्थ स्वरुप चरअचर सारा संसारलाई ढाकेको छ । विद्वानहरुले जसलाई, शब्दब्रह्म भन्दथे । चैतन्य स्वरुप……… चन्द्रमाकिंत त्यो वागीश तेजको सधैं सेवा गर्दछु । यसमा उल्लेखित उपर्युक्त वाक्यांशहरुलाई दृष्टिगर्दा यसमा थोरै शब्दबाट स्पष्ट दार्शनिक दृष्टिकोणहरु अपनाएको महसूस हुन्छ ।

यो अभिलेखमा श्री–श्री–श्री भृंगेश्वर सदाशिवलाई सुनको छत्र बनाई प्रतिष्ठा गरिएको देखिन्छ । यो सुनको छत्रको स्थिति के छ र सुनको छत्र पुण्य प्राप्त गर्नको लागि परमेश्वरलाई प्रसन्न पार्नको लागि प्रतिष्ठा गरिएबाट महादेव श्री भृंगेश्वर पुुण्य दाताको रुपमा पनि प्रस्तुत भएको पाइन्छ ।

२.२.४. सुनागुठी भृङ्गारेश्वरको अभिलेख (श्री सिद्धिमंगलादेवीको अभिलेख)
ने.सं. ८०६ (वि.सं. १७४३) आषाढ शुल्क नवमी चित्रा उप्रान्त स्वाती नक्षत्र, शिवयोग, यथाकरण, मुहूर्तमा आदित्यवारका दिन भृंगेश्वरलाई प्रसन्न पार्न धारा बनाई त्यस माथि श्री पार्वती र महादेवको मूर्ति पनि लोकको हित होस् भनि चोखो मन भएकी ती रानीले स्थापना गर्न लगाउनु भई यो अभिलेख राख्न लगाउनु भएको देखिन्छ ।

यो अभिलेखमा ॐ नमः शिवाय आदिबाट शुरु गर्नुको सट्टा ॐ नमः श्री भृङ्गेश्वराय भनी शुरु गरेको देखिन्छ । यसबाट रानी सिद्धिमंगलादेवी शिवभक्त हुनु भई विशेष रुपमा भृङ्गेश्वरकै परमभक्त देखिनु हुन्छ । यस अतिरिक्त देवताहरु, दैत्यहरु, किन्नरहरु र यक्षहरु जसको चरण कमलमा भँवरा जस्ता हुन्छन्, देवताहरुका मालिक, ऐश्वर्य दिने उहाँ भूतनाथ श्री भीमभृङ्गेश्वरलाई म ढोग्दछु भनी उल्लेख भएबाट भृङ्गेश्वरको अगाडि भीम शब्द थपिएको देखिंदा श्री भृङ्गेश्वरलाई ठूलाबडा देवताका रुपमा समेत आदर गरी श्री भीमभृङ्गेश्वर भन्नु भएको देखिन्छ ।

राजा श्री निवासमल्लका विवाहित रानी असल बुद्धि भएकी सिद्धिमंगलादेवीले हरवखत जनतालाई आनन्द दिन पानीको धाराले राम्रा भएको यो धारा महादेवलाई पूजा गर्न महादेवको सामुन्ने बनाउनु लाउनुभयो भनी उल्लेख भएबाट यो धारा विशेष रुपमा श्री भृङ्गारेश्वर महादेवलाई पूजा गर्न स्नान गराउनलाई नै निर्माण गरेको देखिन्छ । यसको साथै हरवखत जनतालाई आनन्द दिने महादेवको रुपमा पनि श्री भृङ्गेश्वर महादेवलाई सम्बोधन गरेको देखिन्छ । स्वर्गवासी आफ्ना पति राजा श्री निवासमल्ललाई मोक्ष प्राप्ति होस् भनी रानी सिद्धिमंगलादेवीले मानिसहरु बस्न महादेवलाई पूजा गर्न बनाइएको धारा सँगै पाटी पनि बनाउनु भयो ।

रानी सिद्धिमंगलादेवीले आफ्ना पति श्री निवासमल्लदेव प्रभु ठाकुरको नाउँले धाराको शिरानमा पाटी बनाईकन श्री ३ उमामहेश्वरको मूर्ति स्थापना गरी यसको लागि आयस्ता चढाउनु भयो । यसरी आयस्ता चढाउँदा श्री ३ उमामहेश्वरदेव श्री ३ भृङ्गेश्वर महादेव र धारामा रहेको देवता, यी तीनै देवताको पूजा गर्नु भनी उल्लेख भएबाट धारा र पाटीसँग सम्बन्धित देवताहरुको साथै श्री भृङ्गेश्वर महादेवको समेत पूजा गर्ने व्यवस्था गरी निश्राव ३ जोर दक्षिणा तीनै जनालाई चढाउनु । श्री तीन देवता तीनैलाई दक्षिणा निश्राव बुसाधनमा राखे सरह नै राख्नु भनी स्पष्ट रुपमा किटान गरी राम्रो व्यवस्था गरेको देखिन्छ ।

रानी सिद्धिमंगलादेवीको यस अभिलेखबाट श्री भृङ्गेश्वर महादेवको महिमा तथा गरिमा बढाउनमा यथेष्ट योगदान हुन गएको पाइन्छ ।

रानी सिद्धिमंगलादेवीले बनाएको उमामहेश्वरको पाटी रानी सिद्धिमंगलादेवीले धारा बनाएको ठाउँको दृष्य

३. वंशावलीहरुमा उल्लेखित महत्वपूर्ण विवरणहरु
वंशावलीले सत्य तथ्य खोजको लागि निकै महत्वपूूर्ण योगदान गरिरहेको हुन्छ । यदाकदा वंशावलीको विवरणमा थप अनुसन्धान र खोजको आवश्यकता महसूस हुने गरेको छ तापनि यसले सत्यताको निकट पु¥याउने कार्यमा भने राम्रो सहयोग गरेको दृष्टान्तहरु पाइन्छन् । श्री भृङ्गारेश्वर महादेवको सम्बन्धमा पनि वंशावलीहरुले राम्रो जानकारी प्रदान गरेका छन् । श्री भृङ्गारेश्वर महादेवको अध्ययनको क्रममा यहाँ मुख्यतः दुुईवटा वंशावलीलाई लिइएको छ । पहिलो नेपालमा पाइने अहिलेसम्मकै पुरानो वंशावली गोपालराजवंशावली र दोस्रो वंशावली भाषावंशावली हुन् । यी दुई वंशावलीलाई आधार गरी श्री भृङ्गारेश्वर महादेवको बारेमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।

३.१ गोपालराजवंशावली विवरण
नेपालमा अहिलेसम्म प्राप्त वंशावलीहरुमा गोपालराजवंशावली सवै भन्दा पुरानो वंशावली मानिन्छ । त्यस गोपालराजवंशावलीको संकलनकाल  वि.स. १४३९–१४५२ मानिन्छ । यस गोपालराजवंशावली अनुसार नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेवको स्थापना पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने रहेको छ ।
गोपालराजवंशावलीमा श्री भृङ्गारेश्वर महादेवको सम्बन्ध दिइएको विवरण निम्न अनुसार रहेको छ ।

१.     ॐ नम । श्रीपशुपतये ।।  ।। क्रमेन वर्तमाने कलियूगे समस्तभूपालमौलिमालाचरणाम्बुजस्यः रा–
२.    जा श्रीमतः पृथ्विस्थिता राजा हिमवतः शैलमध्येवत्र्तिनि महारथिभूतमण्डले भृङ्गारेश्वरभट्टारक प्रादुर्भू–
३.    तः तदनु गौतमादिभि ऋषिगणैस्तत्र गोतमेश्वरादयो देवाः प्रतिष्ठिता भृङ्गारेश्वरभट्टारकश्लेमा–
४.    न्तकवने विहरति स्म ।। नेपनामा गोपालो वभूव तस्य कपिलगवी वाग्मती वेगत्वा तया छिरधारया
५.    संसिक्ते भूप्रदेशे श्रीमान् पशुपति प्रगासित, तेन नेपनाम्ना गोपालेन पशुपति प्रतिष्ठा कृतः ।। त–
६.    त परेन गोपालवंशानो क्रमेन राज्य भुंजित ।।तत्राद्यः राजा श्रीभून्मागह वर्ष ८४ राजा श्रीजयगू–
७.    प्त वर्ष ७३ मास ३ ।। राजा श्रीपरमगुप्त वर्ष ९१ ।। राजा श्रीहर्षगुप्त ६७ ।। राजा श्रिभिमगुप्त वर्ष ३८ ।। राजा श्रीमनीगूप्त वर्ष ३७ ।। रा–
८.    जा श्रिविष्णुगुप्त वर्ष ४६ ।। राजा श्रीजयगुप्त वर्ष ७१ मा १ ।। एवमष्टौ श्री गोपालराजानः १० ।

अनुवाद
श्रीपशुपतिलाई नमस्कार । क्रमैले कलियुग सुरु हुन थालेपछि, सारा राजाहरुका शिरपेचका मालाले पाउ सिँगारिएका (राजाहरुले ढोगिएका) ठूला राजाहरुको राज्य चल्न थाल्यो । त्यसबेला हिमालय पहाडका बीच भागमा रहेको, घना जङ्गल भएको भूमण्डलमा (नेपालउपत्यकामा) भृङ्गारेश्वर महादेवको प्रादुर्भाव भयो । अनि गौतम आदि ऋषिहरुले त्यहाँ गौतमेश्वर आदि देवताहरु स्थापना गरे । अनि भृङ्गारेश्वर महादेव श्लेष्मान्तक वनमा विहार गरी रहन लागे ।
‘नेप’ नाउँका गोपाल भए । तिनकी कैली गाईले वाग्वतीको तीरमा गई दूधले सेचन गर्न लागी । दूधले सेचन गरिएको त्यस ठाउँमा श्रीपशुपतिनाथ प्रकट भए । ती नेप नाउँ गरिएका गोपालले पशुपतिको प्रतिष्ठा गरे । त्यसपछि गोपालवंशी राजाहरुले क्रमशः राज्य गरे । तिनमा पहिला राजा श्री भूमिगुप्त; वर्ष ८४ । राजा श्री जयगुप्त; वर्ष ७३ महिना ३ । राजा श्री परमगुप्त; वर्ष ९१ । राजा श्री हर्षगुप्त; वर्ष ६७ । राजा श्री भीमगुप्त; वर्ष ३८ । राजा श्री मणिगुप्त; वर्ष ३७ । राजा श्री विष्णुगुप्त; वर्ष ४६ । राजा श्री जयगुप्त; वर्ष ७१ महिना १ । यसरी ८ जना गोपालवंशी राजा भए ११ ।
गोपालराजवंशावलीमा नेपाल मण्डलको चर्चा गर्दै पहिले श्री भृङ्गारेश्वर भट्टारक प्रादुर्भाव भएको उल्लेख गरिएबाट र श्री भृङ्गारेश्वर महादेव श्लेष्मान्तक बनमा विहार गरी रहन लागे भनी सकेपछि मात्र नेप नाउँका गोपाल भए ती गोपालले पशुपतिको प्रतिष्ठा गरे भन्ने कुरा उल्लेख भएको हुँदा श्री भृङ्गारेश्वर महादेव प्रादुर्भाव भइसकेपछि मात्र पशुपति महादेवको प्रादुर्भाव भएको हो कि भन्ने अनुमान गर्न सकिने स्थिति पैदा भएको देखिन्छ ।
श्री भृङ्गारेश्वर महादेव अति प्राचीन महादेव हो । गोपालराजवंशावलीमा दिइएको विवरणलाई दृष्टिगत गर्दा गोपालवंश मात्र पनि लिच्छिविकालका भन्दा २४११ बर्ष अगाडिको हुन सक्ने देखिन्छ । यसरी धेरै वर्ष अगाडिको यो महादेवको वास्तविक स्थिति पत्ता लगाउन गहन अध्ययन र अन्वेषणको आवश्यकता देखिन्छ ।
१०–११. श्री धनवज्र वज्राचार्य लिखित गोपालराजवंशावली ऐतिहासिक विवेचना पृष्ठ १३५ र १४०–१४१

३.२ भाषावंशावली
यो भाषावंशावली सत्रौं शताब्दीताकाको हो । यस वंशावलीमा भृङ्गीश्वरको उत्पतिको उल्लेख भएको पाइन्छ । यसै क्रममा महादेवबाट भृङ्गीलाई श्राप र भृङ्गीको ब्राह्मण कुलमा जन्म भई उनले तीर्थाटन गरेको कुरा उल्लेख छ । यसरी तीर्थाटन गरी सकेपछि नेपाल क्षेत्रमा बस्याका नाना तीर्थ देवता सन्धि बस्याका ब्राह्मण तपस्वीकन बोलाई सम्मत गरी वेदोत्त विधि पूर्वक गरी शिव स्थापना गरी सकी गुणाढयले हात जोडी तपस्वीहरुकन भन्या “हे ब्राह्मणहरु सुन यो शिवकन के नाम राख्ने हो भन्दा ती मुनीहरु मध्ये हारित नाम भएको विप्रर्षी भन्दछन् । सुन गुणाढय तिमी मनुष्य होइनौ, केही हेतुले गरी जन्म लिन आएको भृङ्गी नाम गरेको श्री शम्भुका द्वारपालक हौ । तसर्थ श्री भृङ्गीश्वर भनी नाम राख,  हारितको वचन सुनी सोही नाम प्रख्यात भयो । द्वापरयुगका शेष रहञ्ज्याल यही नाम रहला, कलियुगमा सुवर्णेश्वर भन्ने छन् भनी गुणाढय आफ्नो भृङ्गीश्वर रुप गरी विमानमा बसी कैलाश जानु भयो । यस्तो कुरा उल्लेख भएबाट भृङ्गीले नै भृङ्गीश्वरको रुप लिएको चर्चा यस भाषावंशावलीमा भएको देखिन्छ ।

श्री भृड्डारेश्वर महादेव मन्दिरको परिसरमा रहेको घण्टा

४. विभिन्न ग्रन्थहरुमा चर्चा गरिएका विवरणहरु
श्री भृङ्गारेश्वर महादेवको सम्बन्धमा विभिन्न ग्रन्थहरु लेखिएका होलान् । तर यहाँ प्राप्त हुन आएका ८ वटा ग्रन्थहरुलाई मात्र दृष्टिगत गरी चर्चा गरिएका छन् । ती ग्रन्थहरुको नाम त्यसमा संलग्न विवरण निम्न अनुसार छन् ।
१.     उपत्यकाञ्चल तात्कालिक सुधार समिति बाट तयार गरिएको प्रतिवेदनको श्री भृङ्गारेश्वर सुनागुठी
२.    पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पशुपति विवेचना एवं पशुपतिनाथ मन्दिर परिचयको भृङ्गेश्वर सम्बन्धी विवरण
३.    श्री सचित्र शिव स्वस्थानी व्रत कथा चौसठ्ठी ज्योतिर्लिङ्ग वर्णनको भृंङ्गेश्वर वर्णन
४.    ललितपुर जिल्लाको प्रसिद्ध देवदेवताहरुको परिचयको भृङ्गेश्वर सुनाकोठी महादेव सम्बन्धी विवरण
५.     नेपाल अधिराज्यको चतुषष्ठिः स्वयम्भू सिद्धज्योतिर्लिङ्ग एवं पशुपतिदर्शन महिमाको श्री भृङ्गेश्वर स्वयम्भूलिङ्ग वर्णन
६.    लोकगणतन्त्रमा भृङ्गारेश्वर सम्बन्धी विवरण
७.    नेपालका नेवारहरु पहिचान र पृष्ठभूमिमा भृङ्गारेश्वर सम्बन्धी विवरण
८.    चौसठ्ठी शिवलिङ्गको विश्लेषणात्मक अनुसन्धानका भृङ्गीश्वर शिवलिङ्ग वर्णन

४.१ उपत्यकाञ्चल तात्कालिक सुधार समितिबाट तयार गरिएको प्रतिवेदन श्री भृङ्गारेश्वर सुनागुठी
२०१४ साल देखि २०१६ सम्म रहेको उपत्यकाञ्चल तात्कालिक सुधार समितिबाट एउटा प्रतिवेदन तयार गरिएको देखिन्छ । उक्त प्रतिवेदनको पेज १५५ देखि १५६ मा श्री भृङ्गारेश्वर सुनागूठीको बारेमा निम्नानुसार चर्चा गरिएको पाइन्छ । श्री भृङ्गारेश्वरको मन्दिर ललितपुर शहरको दक्षिण भागमा लगभग डेढकोश टाढा सुनागूठी जसलाई सुनाकोठी पनि भन्दछन् । त्यहाँ सुशोभित छ । श्री भृङ्गारेश्वर स्वयं उत्पन्न ज्योतिर्लिङ्ग मानिएका छन् । यस शिवलिङ्गमा पनि प्राचीनकालमा स्पर्शमणि परिशोभित थियो भन्ने प्रसिद्धिबाट स्थानीय जनताहरु मात्र होइन नेपाल अधिराज्यभरका व्यक्तिहरुलाई आकर्षित गराइरहेको कुरा धेरैलाई ज्ञान भइरहेकै कुरा हो ।

श्री भृङ्गारेश्वर महादेवको स्पर्शमणिको सम्बन्धमा कुनै दिन स्थानीय व्यक्ति विशेषले पूजनाराधनार्थ लागेको ताम्रपत्रले अकस्मात् लिङ्गमा छोइन जाँदा तत्कालै उसको ताम्रपत्र सुवर्णरुपमा परिवर्तित भएकोले त्यो घटना देख्दा आश्चर्यचकित भएकोले उक्त पूजकले लोभवशात् त्यस लिङ्गमा हतियार प्रयोग गरी त्यो स्पर्शमणि झिक्न लाग्दा उक्त लिङ्गबाट त्यो स्पर्शमणिको अंश उडी नख्खु प्रवेश भई विलीन भएको किंवदन्ति रहेको छ । अर्को फेरि शिवलिङ्ग पूजक विप्रले पूजा गर्दा विहान लगाएको कुशको औंठी साँझको आरती समाप्त गरिसके पछि तोलाभरको सुनको औंठीको रुपमा परिवर्तित हुने हुन्थ्यो भन्ने जनश्रुति पनि छ ।

श्री भृङ्गारेश्वर महादेवको अति प्राचीनताको सम्बन्धमा र श्री पशुपतिनाथका धेरै कुरामा समानता देखिएकोले काष्ठमण्डप राजधानीमा श्री पशुपति पीठको र ललितपुर राजधानीमा श्री भृङ्गारेश्वरको पीठको प्रतिच्छाँया अनुभव हुने हुनाले यो महादेव पनि उही कक्षाको अनादि ज्योतिष्पीठको संभावना व्यक्त गरिएको छ । यसको साथै ललितपुरका राजा प्रजाहरु पनि यही पीठको दर्शनले श्री पशुपति पीठको दर्शनका आकांक्षा पूर्ण गर्दछ भन्ने जनश्रुति पनि रहेकोछ । यस अतिरिक्त श्री पशुपति पीठमा झैं यस पीठमा पनि पूर्वकालदेखि दक्षिणबाट पूजक रही आएकोबाट पनि यो भृङ्गारेश्वर महादेव अति प्राचीन ज्योतिष्पीठ हुनमा पुष्टि मिल्दछ भनी उल्लेख गरिएको छ ।

तदनन्तर नेपाली संवत ६३३ मा राजा रत्न मल्लले श्री भृङ्गारेश्वरको स्वप्नादेशानुसार नगर निर्माण गरी ३०० घरका जनता बसाई चैत्र पूर्णिमाको दिनमा रथयात्रा र लिङ्गो उभ्याउने प्रथा प्रचलित गराएको भन्ने भनाइ उल्लेख गरिएको पाइन्छ । यस सम्बन्धमा ठोस आधारहरुको खोजी र गहन अध्ययनको आवश्यकता रहेको देखिन्छ । यसरी नै विष्णुसिंहले ७३४ मा मठ निर्माण, ७३५ मा जगन्नारायणले त्रिशूल स्थापना, ८०६ मा सिद्धिमंगलादेवीले पार्वती महादेवको मूर्ति स्थापना गरि धारा पाटी निर्माण गरेको भन्ने कुरा तत्तत् स्थलमा प्राप्त वस्तुले संकेत दिइरहेका छन् भनी उल्लेख गरिएको छ । विष्णुसिंहले मन्दिर निर्माण गरेका थिए, मठ निर्माणको कुरा उल्लेख पाइँदैन । ७३५ मा जगन्नारायणले त्रिशुल स्थापना गरे भन्ने सम्बन्धमा ने.स. ७३४ भाद्र शुक्ल दशमी उत्तराषाठा नक्षत्र शोभन योग शनिवारको दिन ब्राह्मण श्री नारायणले महादेवलाई भक्तिपूर्वक त्रिशूल चढाए । अभिलेख अनुसार त्रिशूल चढाउनु हुने ब्राह्मण नारायण थिए, जगन्नारायण थिएन । ने.स. ७३५ चैत्र शुक्ल पूर्णिमा सोमवार चित्रा नक्षत्र शुद्धि योगमती (ब्राह्मण नारायणको छोरा) ब्र्र्राह्मण महादेवले भृङ्गारेश्वरको नजिकै यी कुमार गणेशलाई स्थापना गर्नु भयो (श्री धनवज्र वज्राचार्य लिखित मध्यकालका अभिलेख, पेज ५३)

४.२ पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन पशुपति विवेचना एवं पशुपतिनाथमन्दिरपरिचयको भृङ्गेश्वर सम्बन्धी विवरण
पशुपतिक्षेत्रको सांस्कृतिक अध्ययन पशुपति विवेचन एवं पशुपतिनाथमन्दिरपरिचय नामक ग्रन्थ पशुपतिनाथ सम्बन्धी गहन अध्ययन गरी तयार गरिएको देखिन्छ । यस ग्रन्थमा पशुपतिनाथ सम्बन्धी विभिन्न बिषयहरुमा विस्तृत वर्णन गरिएको छ । यस ग्रन्थमा पशुपति पुराणको चर्चा गर्दै  भृङ्गेश्वरको बारेमा पनि केही वर्णन गरिएको पाइन्छ, जुन निम्न अनुसार रहेको छ ।

“त्यस्तै किसिमको कथा पशुपतिपुराणमा पनि पाइन्छ । त्यो कथा त्यहाँ सनत्कुमारबाट भनिएको छ । त्यस अनुसार सिद्धाद्रिनामले प्रख्यात भएको नागराज श्लेष्मान्तकले शिवको खूवै आराधना गरेपछि भगवान शिव प्रकट भई उसलाई देवदैत्यहरुद्वारा मार्न नसकिने वरदान दिनुको साथै आफ्नो इच्छामा स्वच्छन्द गतिमा जहाँ पनि जान सक्ने आशीर्वाद दिए । उनैको नामबाट सिद्धाद्रि नामको वन श्लेष्मान्तक नामले प्रसिद्ध हुने तथा सो वन पुण्यात्मा साधुसन्तहरुद्वारा सेवित हुने कुरा बताए । त्यसपछि भगवान् शिवले पार्वतीलाई ज्येष्ठिला, शोकवती, भृङ्गेश्वर आदि क्षेत्रको दर्शन पूजन गर्न अ¥हाई आपूm चाहिँ मृगरुपमा मृगस्थलीको रमणीय वनमा घुम्ने कुरा बताए । त्यहाँ ब्रह्मा, विष्णु र इन्द्र शिवको दर्शन इच्छाले आएमा मृग रुपको बारेमा बताइ दिनु भनी पार्वतीलाई अह्याई मृगरुप लिई मृगस्थलीमा घुम्न थाले भनिएको छ (पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पशुपति विवेचना एवं पशुपतिमन्दिरपरिचय, पृष्ठ ९८) ।”

मृगरुप भएकै कारणले शिवको अर्को नाम पशुपति । पशुपतिनाथ भएको प्रसंगलाई दृष्टिगत गर्दा र शिवले पार्वतीलाई ज्येष्ठिला, शोकवती, भृङ्गेश्वर आदि क्षेत्रको दर्शन पूजन गर्न अह्याई आफू चाहिँ मृगरुपमा मृगस्थलीमा घुम्न गएको कुरालाई मनन गर्दा भृङ्गेश्वर–भृङ्गारेश्वर पशुपतिनाथ भन्दा अगाडि प्रादुर्भाव भएको भन्ने गोपालराजवंशावलीको कथनमा थप बल पुग्न गएको देखिन्छ ।

यस ग्रन्थमा पशुपति सम्बन्धी विस्तृत वर्णन गरिएको छ र भृङ्गारेश्वर सम्बन्धी अन्य खासै विवरणहरु रहेको पाइँदैन तथापि पशुपतिको समय निर्धारण गर्ने क्रममा र अन्य कुराहरुको चर्चाबाट भृङ्गारेश्वर सम्बन्धी तथ्य पत्ता लगाउन सहयोग हुन जाने भएकोले केही विवरणहरुलाई उद्धृत गरिएका छन् । ती विवरणहरु तल दिइएका छन् ।
पशुपतिनाथको उद्भव सम्बन्धी कथा नेपाल महात्म्यमा पनि दिइएको छ । त्यहाँ छोटकरी रुपमा भगवान् शिवले गर्नु भएको लीला र पशुपतिनाथ रहनाको कारण दिइएको छ । त्यहाँ जन्मेजयको यज्ञको समाप्तिको अवसरमा जैमिनिले महात्मा मार्कण्डेयसंग नेपालको बारेमा सोद्धा उनले श्लेष्मान्तक वनको सौन्दर्य र रमणीयताको चर्चा गर्दै काशी र सुन्दर कैलाशलाई छोडेर भगवान् शिव श्लेष्मान्तक वनमा विहार गर्न गएको उल्लेख गरेका छन् । वाग्मतीको किनारस्थित श्लेष्मान्तक वनलाई देखेर शिवजी अत्यन्त खुशी भई आफ्ना गणहरुले पनि थाहा नपाइने गरी त्यहाँ वसेको वताइएको छ (मुक्तिनाथ खनाल नेपाल महात्म्य (काठमाडौ, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान वि.सं. २०२८) १९–२७, २–४ पृष्ठ)

गोपालराजवंशावलीमा उल्लेख गरिएको ‘अनि भृङ्गारेश्वर महादेव श्लेष्मान्तक वनमा विहार गरी रहन लागे’ भन्ने वाक्यले माथि उल्लेखित विवरणसंग निकै निकटता राखेको महसूस हुन्छ । पशुपतिनाथको उद्भवको सम्बन्धमा चर्चा गर्ने पहिलो वंशावली गोपालराजवंशावली हो । नेपालमा अहिले सम्म प्राप्त वंशावलीहरुमा गोपालराजवंशावली सवैभन्दा पुरानो मानिन्छ । त्यस वंशावलीको संकलन काल १४३९–१४५२ मानिन्छ (पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पशुपति विवेचना एवं पशुपतिमन्दिरपरिचय, पृष्ठ १००) । त्यहाँ पशुपतिको पादुर्भावको सम्बन्धमा यस्तो भनिएको छ । ‘नेप’ नाउँका गोपाल भए । तिनकी कैली गाईले वाग्वतीको तीरमा गई दूधले सेचन गर्न लागी । दूधले सेचन गरिएको त्यस ठाउँमा श्री पशुपतिनाथ प्रकट भए । ती नेप नाउँ गरिएका गोपालले पशुपतिको प्रतिष्ठा गरे । गोपालराजवंशावलीको विवरणलाई हेर्दा पशुपति शिवलिङ्गको प्रादुर्भाव गोपालवंशको राज्यकालमा भएको संकेत मिल्दछ । तर कुन राजाको पालामा सो घटना घटेको हो, त्यसको भने त्यहाँ उल्लेख पाईदैन । त्यस वंशावलीमा गोपालवंश, महिषपालवंश र किरातवंशका नामहरुको तथा राज्य समयको समेत उल्लेख गरिएको छ । त्यहाँ दिइएको विवरणलाई हेर्दा लिच्छविहरुको आगमन भन्दा झण्डै २४१९ बर्ष अघि पशुपतिनाथको प्रादुभार्व भएको संकेत मिल्दछ१६ । यी कुराहरुबाट श्री भृङ्गारेश्वर महादेवको प्रादुर्भाव भएको समय निर्धारण गर्ने क्रममा सत्यको निकट पु्ग्न सहयोग हुने देखिन्छ ।

यसरी नै महाभारतमा उ्रल्लेख गरिएका घटनाक्रम एवं इतिहासलाई मनन् गरी पौरस्त्य विद्वानहरुले यसलाई कलियुगको प्रारम्भ भन्दा अघिको काल मानेका छन् । त्यस अनुसार महाभारतको रचनाकाल आज भन्दा ५०९६ वर्ष अघि हुन्छ१७ । ५०९६ बर्ष अघि रचिएको ग्रन्थमा पशुपतिनाथको उल्लेख पाइनाले पशुपतिनाथको प्राचीनता वारेमा केही संकेत मिल्दछ भनी लेखिएको छ । यस विवरणबाट पनि श्री भृङ्गारेश्वर महादेव पनि प्राचीनता निर्धारण गर्नमा सहयोग पुग्न गएको छ ।

पशुपतिनाथमा भएको वर्तमान शिवलिङ्ग वि.सं. १४१७ मा स्थापित अर्वाचीन लिङ्ग हो । त्यस भन्दा अगाडि अर्कै शिवलिङ्ग थियो । बङ्गालका सुल्तान शमसुद्दीन इलियासको आक्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रमणमा पहिलेको शिवलिङ्ग नष्ट भएको कुरा वंशावली एवं शिलालेखहरुबाट बुझिन्छ । पहिलेको शिवलिङ्गको अवशेष नपाइने हुनाले त्यस बारेमा केही बताउन सकिन्न भनिएको छ१८ ।  तर श्री भृङ्गारेश्वर महादेवको शिवलिङ्ग पहिलेकै प्राचीन शिवलिङ्ग भएको र त्यस शिवलिङ्गसँग सम्बन्धित अनेकौं विशेषताहरुलाई दृष्टिगत गर्दा श्री भृङ्गारेश्वर महादेवको गरिमा र महिमा अपरम्पार रहेको तथ्य स्पष्ट छ ।

४.३ श्री सचित्र शिवस्वस्थानी व्रतकथा चौसठ्ठी ज्योतिर्लिङ्ग वर्णनको भृङ्गेश्वर सम्बन्धी विवरण :
यो पुस्तकको रचयिता श्री पं. चित्र प्रसाद सुवेदी हुनुहुन्छ । उहाँले चतुषष्टि ज्योतिर्लिङ्ग महात्म्य, जुन श्री स्कन्दपुराणे हिमवत् खण्डे नेपाल महात्म्य नाम सप्ततितमो ऽध्यायबाट उद्घृत गर्नु भई ५२ श्लोकमा यसरी प्रस्तुत गर्नु भएको छ ।
भृङ्गेश्वरो हि यत्रास्ते प्रमथैश्च समं सदा ।   देवैः प्रसेवितो नित्यं तन्नेपालो विराजते ।।
यसरी स्कन्दपुराणमा श्री भृङ्गेश्वर महादेवको वर्णन गरिएको पाइएको छ । पं. चित्र प्रसाद सुवेदीजीले आफ्नो पुस्तकमा चतुषष्टि ज्योतिर्लिङ्ग महात्म्यको क्रममा भृङ्गेश्वरको वर्णन पञ्चचतारिशोऽध्यायमा गर्नु भएको छ, जुन निम्न प्रकार रहेको छ ।
भृङ्गेश्वर शिव मन्दिरको वर्णन यस प्रकार रहेको छ ।
शिवमन्दिर नेपालको राजधानी कान्तिपुर नगरको दक्षिण दिशामा अवस्थित ललितपुर जिल्लाअन्तर्गत
१६–१८.     पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन, पशुपति विवेचना एवं पशुपतिमन्दिरपरिचय, पृष्ठ १००, १०२ र १०४

सुनाकोठीमा रहेको छ । भृङ्गेश्वर शिवमन्दिर ढलौटमा सुनको जलप लगाएको गजुर भएको, गुम्बज शैलीको छानो, इँटाको गाह्रो, चारैपट्टि ढोका भएको सुन्दर देखिन्छ । मन्दिरभित्र तीन फुट जति अग्लोे कालो वर्णको शिवलिङ्गमा नित्य जलधारा, पूजा, रुद्रीपाठ, आरतिहरु ब्राह्मण पुजारीद्वारा हुने गर्दछ ।
यस मन्दिरदेखि पूर्वपट्टि गणेश मन्दिर, दक्षिणमा पुजारी बस्ने घर, नैऋत्यमा जगन्नाथ मन्दिर, पश्चिममा नन्दी, सिंह र धर्मशाला छन् भने उत्तरपट्टि कुमारी मन्दिर रहेको यस विशाल परिसरभित्र शिलाका मूर्तिहरु पनि यत्रतत्र रहेका छन् । यो भृङ्गेश्वर मन्दिर सुनाकोठी नगरको बीचमा अवस्थित छ । यस मन्दिरमा बालाचतुर्दशी, शिवरात्री, हरितालिका आदि पर्वहरुमा मेला लाग्नुका साथै वैशाखशुक्ल पूर्णिमाका दिन विशेष पर्वपूजा हुने गर्दछ ।
ॐ नमः शिवायः
अथ पञ्चचत्वारिंशोऽध्यायः
भृङ्गेश्वर वर्णन
स्कन्दकुमार आज्ञा गर्नुहुन्छ – ”हे अगत्स्यमुनि ! केही कालमा विरुपाक्षले नेमुनिसंग फेरि प्रश्न गर्दछन्– ”हे मुनिवर  ! भृङ्गेश्वर शिवलिङ्ग कहां अवस्थित छ, कसले तपस्या गर्दा शिवजी उत्पन्न हुनुभयो र को भक्त मोक्ष भए ? यो कथा सुन्न पाउंm ” भनी बिन्ती गर्दा नेमुनि भन्नुहुन्छ–
भूयोऽगमदविरुपाक्षो निशम्य तद्धचो मुदा ।
तेन साद्र्ध घटोदभूत यत्र भृङ्गेश्वरो विभुः ।।
(स्क.हि.ने. १३४ अ. श्लो १)
”हे विरुपाक्ष । गोभराटेश्वरदेखि दुई कोस नैऋित्य कोणमा रहेको नागकुट पर्वतमा स्नान गर्ने भक्तहरुले सिद्धि पाउने अति पवित्र सिद्धरसकुण्ड छ । यस कुण्डदेखि केही उत्तरमा भृङ्गेश्वर शिवलिङ्ग अवस्थित छ । त्यस्तै यस स्थानदेखि दश हात ईशानमा ज्ञानवापी तीर्थ र यसदेखि दुई पाउ पूर्वदिशामा नागदह तीर्थ पनि छ । भृङ्गीले यसै तीर्थमा स्नान गरेर तपस्या गर्दा शिवजीले दर्शन दिनुभएको थिये ।”
नेमुनिको यस्तो वचन सुनेपछि विरुपाक्ष भन्छन्– ”भृङ्गी भनेका को हुन् उनले किन तपस्या गरे । नेमुनि  भन्नुहुन्छ– ”प्राचीनकालमा अन्तगृहमा पार्वतीले शिवजीसंग भन्नुहुन्छ– ”हे भगवान् । हामी बीजमा जीव र शक्ति भएर बस्छौं अनि ब्रह्मा सृष्टिकर्ता हुन्छन् । हामी रहुञ्जेल प्राणीहरु जीवित रहन्छन् । हामीलाई कोही कसैले चिन्दैनन् इत्यादि शिव र पार्वतीको संवाद भएछ । यो संवाद भृङ्गी नाम भएको ढोकेले भ्रमराको रुप लिएर अन्तगृहमा प्रवेश भएर सुनेछ र उसका घर गएपछि आप्mनी श्रीमती जयालाई भनेछ । जयाले पार्वतीको सेवा गर्दा भनिछन् र पार्वती आश्चर्य भई केही दिनपछि मात्रिका गण, ढोके–पालेहरु सबै बोलाई सभा राखी पार्वतीले सोध्नुभयो–”हे गण हो ! शिवजीको र मेरो अन्तगृहमा भएको प्राणी सृष्टिसम्बन्धी वार्ता तिमीहरुमध्ये  कसैलाई थाहा छ भने मलाई बताउ भन्नुभयो । भृङ्गीकी श्रीमती जयाले सबै कुरा बताइन् । त्यसपछि पार्वतीले ढोके भृङ्गीलाई बोलाएर भन्नुभयो–”हाम्रो गोप्य तैंले कसरी थाहा पाइस्” भनेपछि ढोके भृङ्गी रुंदै र काम्दै भन्छ– ”हे

मातापिता ! म भ्रमराको रुप लिएर भित्रै बसेको थिएं भनेपछि शिवजी रिसाएर भन्नुभयो–” मेरो ढोके भएर मेरै गोप्यतालाई कायम राख्नुपर्नेमा उल्टो प्रचार गरेको हुंदा तैंले मत्र्यलोकमा गई मानव जन्म भएर एक सय वर्ष बस्नुपरोस्” भनी भृङ्गीलाई श्राप दिनुभयो । श्राप पाएपछि शिवजीको दुवै पाउ समाती रुंदा–रुंदा करुणामूर्ति शिवजीबाट अनुग्रह हुंदै फेरि आज्ञा भयो– ”हे भृङ्गी सुन मत्र्यमण्डलको हिमालय पर्वत नगिचमा मेरो मन्दिर छ । त्यसका समीपमा करवीर नाम भएको गुफा छ । त्यहां बसेर मेरो नाम जपी तपस्या गर्नु, एक सय वर्ष भएपछि म लिन आउनेछु भनी शिवआज्ञा भएपछि भृङ्गी यसै क्षेत्रमा आई कुण्डलिनी तलाउमा स्नान गरी वैदिक षड्कर्म विधिबमोजिम शिवलिङ्ग स्थापना गरी पञ्चामृतद्धारा स्नान गराई जलधारा लगाई पूजा गरी शिवमन्त्रहरु जपपाठ गर्दा–गर्दा एक सय वर्ष बितेपछि वैशाख शुक्ल पूर्णिमाका आधारातमा शिवजीले ज्योतिस्वरुप दर्शन दिेई भन्नुभयो– ”हे भक्त ! यस लिङ्गको नाम भृङ्गेश्वर भयो । यस लिङ्गको सेवा पूजा गर्नेहरु इच्छाअनुसारको फल पाउन् र मोक्ष होउन् अनि तिमी पनि कैलाश जाउ ! ” भन्ने  वरदान दिई शिवजी अन्तध्र्यान हुनुभयो । शिवजीको वरदान पाई कैलाशबाट विमान आयो र त्यो भृङ्गी कैलाशबासी भयो । केही समयपछि त्यसै स्थानमा त्रिकालदर्शी ऋषिमुनिहरुले वेदी बनाई शिवलिङ्ग स्थापना गरी वैदिक विधिले संस्कार पूजा गरेपछि त्यो लिङ्ग पारसमणिजस्तो भयो । जुन धातु त्यस लिङ्गमा छुवाएपछि सुन हुने भयो ।
नेमुनि भन्नुहुन्छ– ”हे विरुपाक्ष ! यस लिङ्गमा सेवा गर्ने अर्का राजाको कथा विस्तार  गर्दछु सुन– प्राचीनकालमा भारतवर्षको उडिसा प्रान्तमा राज्य गर्ने चन्द्रवंशी नहुष नाम गरेका राजा यहां आएर भृङ्गे्रश्वरको शिवलिङ्गमा स्नान पूजा गरी मन्त्र जप गरी तपस्या गरेपछि शिवजीले स्वर्गको राज्य पाउनेछौं भनी वर दान दिनुभयो । र स्वर्गको राजा भएपछि इन्द्राणीको धर्मनष्ट गराउने इच्छा लिई इन्द्राणीलाई नहुष राजाले भने–“महारानी म स्वर्गको राजा भएपछि तिमी मेरै रानी हुनुपर्छ” भन्दा बृहस्पतिको सल्लाह लिएर इन्द्राणी भन्छिन्– ”महाराज, सप्तऋषिहरुले बोकेको पाल्कीमा चढेर  आमरावती घुमेर आउनुहोस् त्सपछिमात्र म तपाईंंंलाई पति मान्छु भनेपछि सप्तऋषिलाई बोलाएर आपूm पाल्कीमा चढेर ऋषिलाई ”सर्प–सर्प” भने । रिसाएका ऋषिले तैं सर्प भने । ऋषिबाट सर्प हुने श्राप पाएपछि नहुष राजा यसै शिवलिङ्ग नगिचमा सर्प भई बसे । केही समयपछि भृङ्गेश्वर दर्शनका प्रभावले राजा नहुष श्रापबाट भुक्त भए ।
हे अगत्स्यमुनि ! यस तीर्थमा विरुपाक्षले नेमुनिका वचनानुसार चैत्र शुक्ल चतुर्दशीका दिन व्रत बसी, दीपदान गरी, शिवजीको भजन–कीर्तन गरी व्रत पारायण गर्दछन् । यस लिङ्गमा स्नान गराई पूजापाठ गर्नेहरु र यस लिङ्गको कथा सुन्ने÷सुनाउनेहरु सबै यस लोकमा सुख–सम्पत्ति पाई परलोकमा कैलाशवासी हुनेछन् ।”
हरि ॐ तत्सत् ।
इति श्रीस्कन्दपुराणे हिमवत्खण्डे नेपालमाहात्म्ये
सचित्र शिवस्वस्थानी व्रतकथायाम् चतुःषष्टिज्योतिर्लिङ्गान्तर्गते
भृङ्गेश्वरवर्णननाम पञ्चचत्वारिंशोऽध्यायः ।।४५।। रु
रुरुसौजन्यः– श्राी पं चित्रप्रसाद सुवेदी लिखित श्राी सचित्र शिवस्वस्थानी व्रतकथा चौसट्ठी ज्योतिर्लिड्ड वर्णन, पृष्ठ १७१–१७४

श्री भृङ्गेश्वरको वर्णनको क्रममा श्री भृङ्गेश्वर शिवलिङ्ग कहाँ अवस्थित छ भन्ने सम्बन्धमा यसमा उल्लेखित विवरणहरु सत्यतथ्य नै देखा पर्दछन् । नागकूट पर्वतको सम्बन्धमा किटानका साथ भन्न नसकिएपनि हालको सुनाकोठी क्षेत्रलाई नै यसले इंगित गरेको देखिन्छ । सिद्धरस कुण्ड हाल सम्म रहेको छ । भृङ्गेश्वर शिवलिङ्ग दशहात ईशानमा ज्ञानवापी तीर्थ छ, जसलाई अहिले ज्ञानकुण्डको नामले पुकारिन्छ । यसरी भृङ्गेश्वर शिवलिङ्ग अवस्थित ठाउँबाट दुई पाउ पूर्व दिशामा नागदह तीर्थ अद्यावधि छ । करवीर नाम भएको गुफाको सम्बन्धमा समयको क्रममा हाल गुफा देखिंदैन तर करवीरको रुख यहाँ यत्रतत्र पाईने त्रिपुरसुन्दरी वा बालकुमारीको वन करवीरको वन हुन सक्ने अनुमान  छ । कुण्डलिनी तलाउ कुन हो भनेर यसै भन्ने सकिने स्थिति छैन, लिच्छविकालीन शिवदेवको अभिलेखमा अपरिमित जलाशयोद्देशतया भन्ने उल्लेख भएबाट यस भृङ्गारेश्वरको क्षेत्रमा ठूलो पोखरी थियो भन्ने बुझिन्छ । सायद यही पोखरी नै कुण्डलिनी हुन सक्ने अनुमान गर्न सकिन्छ । तर यो ठूलो पोखरी कहाँ छ पत्ता लाग्न सकेको छैन । यसैले यो कुण्डलिनी अध्ययनको विषय बन्न गएको छ ।
वैशाख शुक्ल पूर्णिमाको आधारातमा शिवजीले ज्योतिस्वरुप दर्शन दिई भृङ्गीलाई भन्नु भयो हे भक्त ! यस लिङ्गको नाम भृङ्गेश्वर भयो । यस लिङ्गको सेवा पूजा गर्नेहरु इच्छानुसार फल पाउन् र मोक्ष होऊन् अनि तिमी पनि कैलाश जाऊ भन्ने वरदान दिई शिवजी अन्तध्र्यान हुनु भयो भनी लेखिएको छ । यस सम्बन्धमा बैशाख शुक्ल पूिर्णमाको दिन अद्यावधि पूजा गर्दै आएको कुरालाई दृष्टिगत गर्दा यो शिवलिङ्ग ज्योर्तिलिङ्ग रहेको तथ्य सत्यको नजीक रहेको दृष्टिगोचर हुन्छ । यस भृंङ्गारेश्वर महादेव अझै पनि जनमानसमा इच्छानुसार फल दिने र मोक्ष प्रदान गर्ने महादेवको रुपमा रहेको धारणा सबैमा पाइन्छ ।
त्रिकालदर्शी ऋषिमुनिहरुले वेदी बनाई शिवलिङ्ग स्थापना गरी वैदिक विधिले संस्कार पूजा गरेपछि त्यो लिङ्ग पारसमणि जस्तो भयो जुन धातु त्यस लिङ्गमा छुवाए पछि सुन हुने भयो भन्ने भनाइलाई दृष्टि गर्दा, ढुङ्गा पारसमणि भएको कथा हामीहरुले सु्न्ने गरि आएकै हो र त्यस शिवलिङ्गमा छुवाए पछि सुन हुने कुरा प्रशस्त किंवदन्ति र जनश्रुतिहरुको रुपमा रहेको हुँदा एकीन नै गर्न नसकिए तापनि यसमा सत्यको झझल्को र आभास भएको अनुमान चाहिँ गर्नु अनुपयुक्त देखिंदैन ।
यस लिङ्गमा सेवा गर्ने अर्को राजा नहुषको कथाको सम्बन्धमा नहुषको बारेमा विस्तृत अध्ययन गरेपछि मात्र भन्न सकिने स्थिति देखिन आउँछ । तर राजा नहुष श्रापबाट मुक्त भए भन्ने सम्बन्धमा श्री भृङ्गारेश्वर महादेव श्रापबाट मुक्त गराउने महादेवको रुपमा रहेको विश्वास छ । यसको पुष्ट्याइँको क्रममा विरुपाक्ष श्रापबाट मुक्त भएको कुराबाट पनि श्रापबाट मुक्त गराउने महादेवको रुपमा श्री  भृङ्गारेश्वरलाई लिन सकिने अवस्था देखिन्छ । नेमुनिका वचन अनुसार विरुपाक्षले चैत्र शुक्ल चतुर्दशीका दिन व्र्रत वसी, दीपदान गरी शिवजीको भजन् कीर्तन गरी व्रत पारायण गरे झै हालसम्म चैत्र शुक्ल पूर्णिमाका दिन भजन कीर्तन गरी व्रत पारायण स्थानीयवासी भक्तजहरुले गरी आएको देखिन्छ; चैत्र शुक्ल पूर्णिमाको दिनलाई स्थानीय सुनागुठीवासीहरुले भृङ्गारेश्वर महादेवको विशेष पर्वको दिन मानी यससंग सम्बन्धित सांस्कृतिक कार्यहरु गणेश, कुमार, महादेव र बालकुमारीको खटजात्रा समेत निकै हर्ष उल्लासका साथ गर्नेे गरेको देखिन्छ ।

४.४ ललितपुर जिल्लाका प्रसिद्ध देवी देवताहरुको परिचय को भृङ्गारेश्वर सुनाकोठी महादेव सम्बन्धी विवरण
श्री वासुदेव कर्माचार्य लिखित यस पुस्तकमा पनि भृङ्गेश्वर (सुनाकोठी महादेव) को वारेमा चर्चा गरिएको छ । यसमा सुनाकोठीमा हुने जात्राको सम्बन्धमा पनि केही वर्णनहरु गरिएका छन् । अन्य कुराको सम्बन्धमा पं. चित्र प्रसाद सुवेदीजीले लेख्नु भएको सचित्र शिव स्वस्थानी व्रतकथा अनुरुप नै छन् ।
४.५ नेपाल अधिराज्यको चतुषष्ठि स्वयम्भू सिद्धज्योतिर्लिङ्ग एवं पशुपति दर्शन महिमाको श्री भृङ्गेश्वर स्वयम्भू लिङ्ग विवरण
यस पुस्तकको रचयिता मधुसुदन शर्मा र पं. कृष्ण प्रसाद खनाल हुनुहुन्छ । उहाँहरुले श्री भृङ्गेश्वर स्वयम्भू लिङ्ग भनेका छन् । यो ज्योतिर्लिङ्ग ललितपुर जिल्लाको दक्षिण भेक सुनाकोठी भन्ने ठाउँमा पर्दछ । यहाँ नजिकै बाटोमुनिको सिद्धिरसकुण्डमा विधिवत् स्नान तर्पण गरेर भृङ्गेश्वरको दर्शन पूजा आदि गरेमा पूर्वजन्मको पापबाट निश्चय नै मुक्ति हुन्छ भनेर लेख्नु भएको छ ।
भृङ्गीको बारेमा उल्लेखित कुरामा माथि वर्णन गरिए भन्दा खासै भिन्न छैन । भृङ्गीको श्राप मुक्तिको उपायको सम्बन्धमा शिवजीले भन्नु भयो पृथ्वीमा गई जहाँ करवीरको वन र सिद्धरसकुण्ड छ त्यहाँ गई त्यो कुण्डको जलले विधिवत् स्नान तर्पण गरी मेरो आराधना गर्नु सय वर्ष पछि श्राप मुक्त भएर फेरि तिमी यहाँ पहिले जस्तै द्वारपाल भई वस्नेछौ । यसमा पं. चित्र प्रसाद सुवेदीजीले करवीरको गुफा भन्नु भएको थियो भने यहाँ करवीरको वन भनिएको छ । यहाँ सुनाकोठीको बालकुमारी त्रिपुरसुन्दरीको जंगलमा करवीरको रुखहरु थिए भने स्थानीयवासीको भनाइ रहेको छ ।

श्री बालकुमारी त्रिपुरसुन्दरी माईको मन्दिर

सिद्धरसको वारेमा पनि यसमा केही चर्चा गरिएको देखिन्छ । शिवजीले भन्नु भयो “यो सिद्धरसले जसले मलाई एक पटक मात्र पनि स्नान गराउँदछ, त्यो आफ्नो देहसहित विमानमा बसेर मेरो लोकमा जान पाउँछ” यस सिद्धरसको धार्मिक दृष्टिले अति महत्वपूर्ण रहेको देखिन्छ । यसको साथै भृङ्गेश्वर शिवलिङ्गको सम्बन्धमा चर्चा गर्दै शिवजीले आज्ञा गर्नु भयो “जो पुण्यात्माले मेरो यस लिङ्गलाई भक्तिपूर्वक पूजा गर्दछ त्यो पूर्व देहको पापबाट निश्चय नै मुक्त हुन्छ ।”१९ यसको साथै कलियुगमा यस लिङ्ग स्वरुप मलाई स्पर्श गर्नाले सिद्धि हुनेछ । यसरी भृङ्गेश्वर शिवलिङ्ग ज्योतिर्लिङ्गको महिमा अपरम्पार भएको वर्णन यसमा भएको देखिन्छ ।

धार्मिक दृष्टिले अति महत्वपूर्ण पवित्र सिद्धरसकुण्ड

यसरी नै मुनिहरुले त्यहाँ आएर लिङ्ग स्थानमा माटोद्वारा पीठिका बनाएर नाना किसिमका पूmल र जलले त्यस लिङ्गलाई पूजा गरे । त्यस जलको स्पर्शद्वारा वेदी पाषाण स्वरुप भयो र लिङ्गको स्पर्शले ताम्रमुद्रा पनि सुवर्णमयी मुद्रा भयो । आ–आफ्ना हातमा भएको तामाको औंठी पनि सुनको भएको देखेर मुनिहरुले त्यस लिङ्गलाई सिद्धलिङ्ग भनेर निश्चय गरे । यसमा अन्य पुस्तक र रचनाहरु भन्दा भिन्न रुपमा वेदी पाषाण रुप भएको ताम्रमुद्रा सुवर्ण मुद्रामा र तामाको औंठी सुनको औंठीमा परिणत भएको कुरा उल्लेख गरी मुनिहरुले लिङ्गलाई सिद्धलिङ्ग भनेर निश्चय गरेको तर्क तर्कसंगत मान्न सकिन्छ ।
राजा नहुष अजिङ्गरको जिउ लिएर त्यहाँ खसेको र महादेवसंगै बसेको प्राणाीलाई कसैले पनि मार्न सक्तैन भनी भृङ्गीको कुराबाट भृङ्गारेश्वर महादेव शरणागतको रक्षकको रुपमा पनि हेर्न सकिन्छ ।
अन्त्यमा “यो सिद्धरसमा नुहाउने मानिस सिद्ध हुन्छ र कुण्डलिनी नामको तलाउमा स्नान गरेपछि
१९.     श्राी मधुसूदन शर्मा र पं. कृष्णप्रसाद खनाल लिखित नेपाल अधिराज्यको चतुषष्ठि स्वयम्भू ज्योतिर्लिड्ड एवं पशुपति दर्शन महिमा, पेज १६९
सर्पको डरबाट मुक्त हुन्छ । वैशाक पूर्णिमाको दिन जो जसले यस लिङ्गलाई दर्शन गर्दछ, त्यो पुरुष आजन्म गरेको पापबाट मुक्त हुन्छ । भाग्यवान पुरुषले मात्र यस लिङ्गको विधिवत् पूजा गर्दछ किनभने यो लिङ्गको पूजा गरेपछि त्यो व्यक्तिले परम्पद प्राप्त गर्दछ । जो सुकै पनि यस ठाउँमा आई प्राण छाड्दछ भने त्यो कुनै योनीमा जन्म लिन नगई सोझै शिवलोक गई बस्न पाउँदछ आदि” उल्ल्ेख भएबाट यो भृङ्गारेश्वरक्षेत्र अति पवित्र धार्मिक क्षेत्रको साथै पुण्य क्षेत्रको रुपमा रहेको बोध हुन आउँछ ।
४.६ लोक गणतन्त्रमा भृङ्गारेश्वर सम्बन्धी विवरण
यस पुस्तकका रचयिता श्री हरिराम जोशी हुनुहुन्छ । यस पुस्तकमा उहाँले पशुपति सदाशिवको पदमा नन्दी, भृङ्गी, इन्द्र, चण्डासुर आदि पनि आसीन भएको कुरा यहाँ उदाहरणार्थ लिन सकिन्छ भनी लेख्नु भएको छ । यसै क्रममा उहाँले हाम्रै नेपालका विभिन्न देवताहरुको अध्ययनमा यस कुराको पुष्टिको आधार भेटिन्छ भनी उल्लेख गर्नु भएको छ र उदाहरणको रुपमा ललितपुर सुरुन्थि (सुनागुठी) मा भृङ्गारेश्वरको मन्दिर छ भने काठमाडौ नक्सालको नन्दिकेश्वर प्रख्यात मन्दिर अवस्थित रहेको तथ्य प्रस्तुत गर्नु भएको छ । यसमा भृङ्गीबाट नै भृंगारेश्वरको रुपमा हेर्न खोजिएको हो कि भन्ने भाव नन्दीबाट नन्दिकेश्वरको कुरा उल्लेख भएबाट उक्त भावको पुष्ट्यार्इं भएको झैं लाग्छ ।
४.७ नेपालको नेवारहरु पहिचान र पृष्ठभूमिमा भृङ्गारेश्वर सम्बन्धी विवरण
नेपालका नेवारहरु पहिचान र पृष्ठभूमि पुस्तकका लेखक डा. तुलसी नारायण श्रेष्ठ हुनुहुन्छ । यस पुस्तकमा श्री भृंगारेश्वर महादेवको सम्बन्धमा सोझै केही लेखिएको छैन । तापनि ब्राह्मणहरुको सम्बन्धमा चर्चा गर्दै पाद टिप्पणीमा भृंगारेश्वर महादेव सम्बन्धी कुरा उल्लेख गर्नु भएको छ  । यसमा नेपाल उपत्यकाको संस्कृतिलाई अपनाएका यी सबै किसिमका (भट्ट, मिश्र र झा) छुट्टै आप्mनो पहिचान पनि छ । नेवार ब्राह्मणहरु धेरै अगाडि खस समुदायका ब्राह्मणहरु जस्तै भारतबाट नेपाल आई यहीं बसोबास गरिे बसेका थिए भन्ने चर्चा यसमा गरिएको छ ।
दक्षिण भारतको असल ब्राह्मण नारायण शर्मा नेपालमा आई राजा शिवसिंहका गुरु बन्नुको साथै यहाँ नै वसोवास गरेका थिए२० । उनको र उनको परिवारको वारेमा चाख लाग्दो वर्णन पाटन सुनागुठी भृङ्गारेश्वर महादेव मन्दिरको शिलालेखमा उल्लेख गरिएको छ भनी लेख्नु भएको छ  । यो शिलालेख नारायण शर्माको छोरा महादेवले राख्न लगाएको थियो ।
४.८ चौसठ्ठी शिव लिङ्गको विश्लेषणात्मक अनुसन्धानमा भृङ्गीश्वर शिवलिङ्ग
यस पुस्तकको रचयिता अन्वेषक, लेखक तथा सम्पादक श्री सं. डा. स्वामी प्रपन्नाचार्य हुनुहुन्छ । स्वामी प्रपन्नाचार्यज्यूले भृङ्गीश्वर शिवलिङ्गको नामले प्रस्तुत गर्नु भएको विवरण निम्न प्रकार रहेको छ । प्रपन्नाचार्यज्यूले यो अति प्राचीन शिवलिङ्गलाई निकै महत्वपूर्ण मान्नु भएर आफ्नो पुस्तकको कभर पेजमा श्री भृङ्गारेश्वर महादेवको शिवलिङ्गको चित्रलाई प्रस्तुत गरि दिनु भएको छ ।
२०.      श्राीधनबज्र बज्राचार्य मल्लकालको अभिलेख नेपाल र एशियाली अनुसन्धान केन्द्र, कीर्तिपुर, काठमाण्डौ २०५६,     पृष्ठ ५२

स्वामी प्रपन्नाचार्यज्यूले श्री भृङ्गीश्वर महादेवको सम्बन्धमा यसरी वर्णन गर्नु भएको छ । “ललितपुर जिल्लाको सुनाकोठी गा.वि.स.मा भृङ्गीश्वर शिवलिङ्ग रहेको छ । यसको वर्णन स्कन्द पुराण हिमवत्् खण्डको १३४ अध्यायमा लेखिएको छ । भृङ्गीश्वरको शिवलिङ्ग र जलहरु ब्राह्म सम्प्रदायको छ । अहिलेसम्मको खोज र अनुसन्धानमा शिवलिङ्ग र जलहरी ब्राह्म सम्प्रदाय भएको यही नै हो । जलहरी चारपाटे शैलीमा छ भने शिवलिङ्ग कमलको पूmलमाथि बसेको छ । यो प्राचीन शिवपूजक सम्प्रदायहरुमा सबैभन्दा पहिले ब्रह्माले पूजन गरेको ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो । मन्दिर धेरै पुरानो भएकोले यसको जीर्णोद्धार कैयौं पटक गरिएको छ । प्राचीन समयको मूल मन्दिरको ढुङ्गाहरु केही गर्भगृहमा, केही संघार आदिमा लगाइएको छ । ढुङ्गाको अध्ययन गर्दा वैज्ञानिकहरुलाई पनि कुन समयको हो पत्ता लगाउन गाह्रै पर्छ । अनुसन्धानका सामग्रीहरुको यहाँ अभाव छैन । नन्दी, त्रिशूल एउटै ढुङ्गाले बनेको छ । यहाँ नित्य नियमले पूजा हुन्छ ।” रु
स्वामी प्रपन्नाचार्यज्यूले अहिलेसम्मको खोज र अनुसन्धानमा शिवलिङ्ग र जलहरी ब्राह्म सम्प्रदाय भएको यही नै हो भनेर उल्लेख गर्नु भएको छ । जलहरी चारपाटे शैलीमा छ भने शिवलिङ्ग कमलको पूmलमाथि बसेको छ । शिवलिङ्गको सबैभन्दा प्राचीन सम्प्रदायका शिवलिङ्गहरु भेटिए तापनि दुवै जलहरी र शिवलिङ्ग भएको यही नै भएबाट यो अति प्राचीन शिवलिङ्ग हो भन्ने पुष्ट्याइँ यसबाट पनि भएको छ । यसको साथै यो प्राचीन शिव पूजक सम्प्रदायहरुमा सबैभन्दा पहिले ब्रह्माले पूजन गरेको ब्र्राह्म सम्प्र्रदायका शिवलिङ्ग हो भनी उल्लेख गरेबाट पनि प्र्राचीनतम शिवलिङ्गको रुपमा प्रस्तुत हुन आएको छ । पशुपतिको पुरानो मूल शिवलिङ्ग नष्ट भइसकेको अवस्था छ, तर भृङ्गारेश्वरको शिवलिङ्ग अद्यावधि छ । यसको ढुङ्गाको स्वरुप, आकृति आदिलाई दृष्टिगत गर्दा गोपालराजवंशावलीमा उल्लेख गरे अनुसार गोपालवंशभन्दा अगाडि नै यसको उत्पत्ति भएको जस्तो बोध हुन आउँछ ।
मन्दिर धेरै पुरानो भएकोले यसको जीर्णोद्वार कयौं पटक गरिएको छ । हालको मन्दिर १९९० साल भूकम्प पछि गरिएको हो भने, यो भन्दा अगाडि विष्णुसिंहले मन्दिर जीर्णोद्वार गरी भव्य रुपमा निर्माण गरेको सत्य ऐतिहासिक भइसकेको छ, त्यो भन्दा अगाडि लिच्छविकालीन समय शिवदेवले भृङ्गारेश्वर देव मन्दिरको स्थितिको लागि भनिएबाट त्यो भन्दा अगाडि मन्दिर रहेको कुरा बोध हुन आउँछ । यो भन्दा अगाडिको मन्दिरको सम्बन्धमा खोजको विषय बन्न गएको छ र ऐतिहासिक भन्दा पर पौराणिक हुन पुगेको देखिन्छ ।
स्वामी प्रपन्नाचार्यले यस शिवलिङ्गलाई भृङ्गीश्वर शिवलिङ्गको नामले प्रस्तुत गर्नु भएको छ । यसको आधार रुपमा यसको वर्णन स्कन्दपुराण हिमवत् खण्डको १३४ अध्यायमा लेखिएको छ भनेर उल्लेख गरेका छन् । पं. चित्र प्रसाद सुवेदीले प्रस्तुत गरेको स्कन्दपुराण हिमवत् खण्ड नेपाल महात्म्य १३४ अध्यायको श्लोक १ यस प्रकार रहेको छ ।
भूयोऽगमद विरुपाक्षो निशम्य तद्वचो मुदा । तेन साद्र्ध घटोदभूत यत्र भृङ्गेश्वरो विभुः ।।
यस भृङ्गारेश्वर महादेवको सम्बन्धमा सत्य तथ्यको क्रममा भृङ्गारेश्वर,भृङ्गेश्वर, भृङ्गेश, भीमभृङ्गेश्वर र भृङ्गीश्वर काल समयमा फरक हुन गएको भएपनि सबै उही देवता शिव महादेव भएको हुँदा खासै विवादको आवश्यकता देखिदैन ।
रुरुसौजन्यः– श्राी सं डा. स्वामी प्रपन्नाचार्यले लेख्नु भएको चौसठ्ठी शिवलिड्डको विश्लेषणात्मक अनुसन्धान, पेज २२९

५. लेख रचनाहरुमा प्रस्तुत गरिएका विचारहरुः
यसमा चार जना रचनाकारहरुले रचना गरेका रचनाहरुलाई प्रस्तुत गरिएका छन् । प्रस्तुत रचनाहरुबाट श्री भृङ्गारेश्वर सम्बन्धी थप जानकारीहरु प्राप्त भएका छन् । अवश्य पनि ती जानकारीहरुले श्री भृङ्गारेश्वरको महिमाको अभिवृद्धिमा थोर बहुत सहयोग पुग्न गएको छ । ती रचनाहरु तल दिइएका छन् ।
१.    अलौकिक शक्ति भृङ्गेश्वर महादेवको
२.    सुनाकोठीको चिनारी भृङ्गेश्वर महादेव
३.    भृङ्गारेश्वर महादेव
४.    सुनाकोठीको श्री भृङ्गारेश्वर महादेव एक चिनारी

५.१ अलौकिक शक्ति भृंङ्गेश्वर महादेवको
यस लेखको लेखक श्री दुर्गा ब. महर्जन हुनुहुन्छ । यो लेख बालकुमारी माध्यमिक विद्यालय सुनाकोठीको स्वर्ण वर्ष एवं विद्यालय संस्थापनको ५३ औं जन्मोत्सव स्मारिकामा प्रकाशित भएको हो । यस लेखको लेखकले सुनाकोठीको चर्चा गर्दै इतिहासमा यो गाउँको नाम सुनाकोठी वा त्रिपुर सुन्दरी, सुवर्णपुर,  सुनागुठी आदि रहेको पाइन्छ भनी लेख्नु भएको छ । तर ती नामहरुको ऐतिहासिक आधार यसमा प्रस्तुत गर्ने प्रयास गरिएको पाइदैन ।
श्री स्वस्थानी व्रतकथामा सतीदेवीको शरीरको अङ्गहरु पतन भई महादेव उत्पन्न भएको पीठ मध्ये कण्डेउलो पतन भई उत्पन्न भएको भैरवेश्वर महादेव हो । जुन यही गा.वि.स.को मध्य भागमा अवस्थित छ । यसलाई त्रिपुर सुशड्ढोदरी योगिनी भैरवेश्वर महादेवको नामले चिनिन्छ र उक्त स्थानमा मेघले आई सिमसिम पानी बर्साइ महादेवलाई खुशी पारी संसारलाई जलदान दिई उद्धार गर्न सक्ने वरदान पाएका थिए । यहाँ भृगु ऋषिले तपस्या गरेकोले यसलाई भृङ्गेश्वर महादेव पनि भनिन्छ भन्ने पुजारीको भनाइ रहेको छ भनी लेखकले लेख्नु भएको छ । भैरवेश्वर महादेव र भृङ्गेश्वर महादेव उही नै हो वा फरक हो यस सम्बन्धमा स्पष्टताका साथ भन्नु आवश्यक छ । यहाँ भृगु ऋषिले तपस्या गरेकोले यसलाई भृङ्गेश्वर भनिएको भन्ने सम्बन्धमा भृगुबाट भृङ्ग कसरी हुन गयो, त्यस बारेमा कुनै आधार प्र्रस्तुत गरिएको देखिदैन र स्पष्टताको खाँचो छ ।

वर्षायाममा देशमा धान रोप्ने समयमा वर्षा नभएमा गाउँवासीहरु तथा छिमेकी गाउँलेहरुद्वारा भृङ्गेश्वर महादेवलाई दूधको जलधाराले स्नान गरी होम पूजापाठ गरेपछि वर्षा हुन्छ भन्ने जन विश्वास अद्यापि रहेको छ भन्ने उल्लेख गरिएको छ ।
यस महादेव मन्दिरको उत्तर दिशातिरको सिंढीमा रहेको कालो ढुङ्गामा वर्षा हुनु भन्दा केही समय अगाडि पसिनाको रुपमा पानी देखा परेपछि वर्षा हुन्छ÷हुदैन भनी वर्षाको मौसम अड्कल स्थानीयवासीहरुले गर्दछन् भनिएको छ । हाल यसरी वर्षा हुनु भन्दा अघि सो ढुङ्गामा पसिनाको रुपमा रसिएर देखिने पानी नदेखिएको एक दशक जति भइसकेको कुरा मन्दिरको पुजारी बताउँछन् ।
वि.सं. १९९० माघ २ गतेको ठूलो भूकम्पले यस मन्दिर सम्पूर्ण ध्वस्त भयो । भूकम्प हुनु अघिको मन्दिर निकै कलात्मक भई सबैलाई आकर्षित गर्न सफल भएको थियो भन्ने भनाइ रहेको छ । हाल पनि केही टुँडालहरु अवशेषको रुपमा वाँकी रहेको  छ । यो मन्दिरको अगाडि एउटा हात्ती जस्तो ठूलो बसाहा र त्रिशूल रहेको छन् । पहिले यो कलापूर्ण ढुङ्गाको बसाहालाई अन्यत्र ठाउँमा राख्ने भनी उक्त बसाहालाई ढोलाहिटीसम्म घिसारेर र बोकेर लगेका थिए । जब सुनाकोठीको सिमाना सकिए पछि ज्यान गएपनि लान नसकेकोले अलौकिक शक्ति भएको उक्त बसाहा छोडी गएको र यथा स्थानमा ल्याइएको कुरा बुढापाकाहरुको भनाइ रहेको छ भनी उल्लेख गरिएको छ ।

सिंगो ढुंगाको कलात्मक हात्ती जस्तो अपूर्व बसाहा
श्री भृङ्गेश्वर महादेवको पशुपतिनाथको जस्तो चतुर्मुख छैन । यो शिवलिङ्गको टाउकोको पूर्व पश्चिम दिशाको केही भाग टुक्रिएर गएको छ । यो भाग कहिले टुक्रिएर गयो र के कारणले भयो भने बारेमा गाउँलेहरु दन्त्यकथाको किवदन्तिको रुपमा यसरी व्यक्त गर्दछन् ।

धेरै धेरै वर्ष अगाडि भृङ्गेश्वर महादेवको पुजारीले दैनिक नित्य पूजा गर्न जाँदा एउटा कुशको औंठी लाएर विधि पूर्वक पूजा पाठ गरी घर फर्कदा हातमा लाएको कुशको औंठी सुनको हुन्थ्यो । एकरात उसले एकैचोटि बढी सुनको औंठी लिई धनी बन्ने विचार गरी भोलि विहान दश ओटा कुशको औंठीलाई विधिपूर्वक पूजापाठ गरी घर फर्किए पछि औंलामा हेर्दा अघि पछिको जस्तो हातमा सुनको औंठी नभई कुशको औंठी पायो । महादेवले लोभी पुजारीलाई दण्ड दिए । पुजारीको धेरै सुन बटुली धनी बन्ने सपना साकार भएन । त्यसैले पुजारीले भृङ्गारेश्वर शिवलिङ्ग माथि टाउकोमा वन्चरोले प्रहार गरे । एक टुक्रा पूर्वको पूर्वदिशातर्फ र अर्को टुक्रा पश्चिमको पश्चिमदिशातर्फ मेघ गर्जे जस्तै गर्जी उडी गए र पुजारी पनि त्यहिँ मुच्र्छा प¥यो । त्यस बेलादेखि उक्त मूर्तिको सुन दिन सक्ने सत् छिन्न भिन्न भएको थियो । लोभी पुजारीको पनि विनाश भयो र महादेवको शिवलिङ्ग पनि कुरुप भयो । त्यसवेला देखि ती पुजारीका सन्तानहरु समेत शरीरका विभिन्न भाग कुरुप भई शाखा सन्तान समेत लोप भएर गए भन्ने किंवदन्ति रहेको छ ।
पुजारीको विनाशकारी बुद्धिले टुक्रिएर गएका क्रान्ति स्वरुपका टुक्रा ढुङ्गाको रुपमा नखु खोलाको बगरमा खसेका थिए । एउटा नेवार घाँसीले घाँस काट्न बगरमा रहेको ढुङ्गामा हँसिया उज्याएर ढुङ्गा खोलामा फ्याँक्यो । घाँस काट्ने हँसिया हेर्दा सुनको भएको देख्यो र घाँसी अचम्म भयो । यसको कारण उसले हँसिया उज्याएको ढुङ्गा नै हुनु पर्दछ भनी यताउति ढुङ्गा खोज्न थाल्यो तर खोलामा फ्याँकेकोले फेला पार्न नसक्दा पश्चाताप गर्दै घर फर्के । त्यस पछि उनको नाम नै घाँसी रह्यो भन्ने जन विश्वास छ ।
पुजारीद्वारा काटिएको पूर्व दिशा तिरको उडिएको टुक्रा सुनाकोठी अन्तर्गत रहेको साहुजल भन्ने पोखरीमा झरेको हुनु पर्दछ भन्ने अनुमान गरिएको छ । यो पोखरी महादेव मन्दिरका पूर्व दिशामा छ । केही वर्ष अघि मात्र त्यो साहुजल पोखरी भासिएर गएकोले मर्मत गर्दा एउटा शिवलिङ्ग भेटाइएको छ, जसलाई पोखरीको पूर्व डिलमा स्थापना गरिएको छ । सायद यस ठाउँमा महादेवको अंश परेको कारणले पनि परापूर्वकालदेखि यस स्थललाई धार्मिक स्थल मानिँदै आएको हुन सक्छ । यो तीर्थ पोखरीलाई गौरीघाट पनि भनिन्छ भनी यस महादेवको पुजारी बताउँछन् भनी लेख्नु भएको छ ।

धार्मिकस्थल साहुजल पोखरी र त्यसमा प्राप्त पुरानो शिवलिड्ड

पुजारीको कुशको औंठी र घाँसीका हँसियालाई सुनमा परिणत गर्न सक्ने भृङ्गेश्वर महादेवको अलौकिक शक्तिको चर्चा बुढापाकाहरुले गर्ने गरी आएको किंवदन्तिका कुरालाई लेखकले सविस्तार प्रस्तुत गर्नु भएको छ । अवश्य पनि अलौकिक शक्ति भएका श्री भृङ्गारेश्वर महादेवमा श्रद्धा भक्ति अर्पण गर्नाले कल्याण हुने कुराको अनुभव गर्न सकिन्छ ।
५.२ सुनाकोठी चिनारी भुङ्गेश्वर महादेव
“वर्गीय क्रान्ति” भन्ने पत्रिकामा २०६६ साउन १५ गते प्रकाशित उक्त रचनाका रचनाकार रिता महर्जन हुनुहुन्छ । उहाँले सुनाकोठीको सम्बन्धमा निम्न प्रकारको विचार व्यक्त गर्नु भएको छ । “केही समय पछि त्यसै स्थानमा त्रिकालदर्शी ऋषिमुनिहरुले वेदी बनाई शिवलिङ्ग स्थापना गरी वैदिक विधिले संस्कार पूजा गरेपछि त्यो लिङ्ग पारसमणि जस्तो भयो । जुन धातु त्यस लिङ्गमा छुवाएपछि सुन हुने भयो । यस अनुसार यो गाउँको नाम नै सुनाकोठी राखियो । पारसमणि जस्तो भएको शिवलिङ्गमा जुन धातु छुवाइयो सो सुनमा परिणत हुने भएकोले सुनाकोठी भएको भन्ने भनाइ विचारणीय छ । विभिन्न अभिलेख अनुसार यस ठाउँको सम्बन्धमा सुरुंथिग्रथि, शुरगुथि आदि भई सुनागुठीबाट सुनाकोठी भएको जस्तो देखिन्छ । यस विषयको निमित्त गहन अध्ययनको आवश्यकता रहेको महसूस गरिएको छ ।
यस भृङ्गेश्वर मन्दिरमा ब्रह्माजीले पहिले पूजन गरेको हुनाले यो मन्दिर पशुपतिको मन्दिर भन्दा अग्रश्रेणीमा आउँदछ र महत्व पनि छ भनी रचनाकारले लेखेकी छिन् । मन्दिर कुन अगाडि र पछाडि भन्ने विषय खासै ठूलो कुरा होइन । हालका दुवै मन्दिर अर्वाचीन हुन् । श्री भृङ्गारेश्वर र श्री पशुपतिनाथको प्रादुर्भाव अति प्राचीन कालमा भएको थियो । दुवैको महत्व निकै रहेको तथ्य सत्य हो ।
सुनाकोठीको बालकुमारीलाई सतीदेवीको लाशलाई बोकी ल्याउँदा शरीरको अङ्गहरु पतन हुने क्रममा कण्डेउली पतन भई उत्पन्न शक्ति स्वरुप रही भैरवेश्वर महादेव प्रकट हुन्छ जसको पीठ देवता भनेर बालकुमारीलाई चिनिन्छ । त्यसैले भृङ्गेश्वर महादेवको मन्दिर जस्तै बालकुमारीको पनि उत्तिकै महत्व रहेको छ भनी उहाँले लेख्नु भएको छ । वास्तवमा अतिमान्य बालकुमारी पीठ साँच्चिकै महत्वपूर्ण पीठ हो । यसको चर्चा अन्यत्र पनि गरिएको हुँदा पुनः दोह¥याइएको छैन ।
५.३ भृङ्गारेश्वर महादेव
यस रचनाका रचनाकार रत्न सायमी हुनुहुन्छ । यस रचनामा उहाँले काठमाडौ, भक्तपुर र ललितपुरमा विभिन्न पुरातात्विक महत्व बोकेका मन्दिरहरु रहेको कुराको चर्चा गर्दै यस्तै मन्दिरहरुमा सुनाकोठीको भृङ्गारेश्वर महादेव मन्दिर पनि एक भनी लेख्नु भएको छ । यो मन्दिरको सम्बन्धमा वंशावली अभिलेखहरुमा भएका कुराहहरुलाई संक्षेपमा लेख्नु भएको छ । यथा यथा स्थानमा ती कुराहरु माथि उल्लेख गरिसकेकोले पुनः यहाँ दोह¥याइएको छैन ।
यो मन्दिर रहेको स्थान लिच्छवि कालमा भृङ्गारेश्वर पांचालिकाको नामबाट प्रसिद्ध थियो  सुनागुठी भन्दा पहिले सुवर्णपुर रहेको थियो भन्ने जनधारणा रहेका कुरा पनि उल्लेख गर्नु भएको छ । यस्तै

क्रममा किंवदन्ति अनुसार भृङ्गारेश्वर महादेवको पूजा गर्दा पुजारीले लगाउने, कुशको औंठी सुनमा परिणत हुन्थ्यो । यसैले यस स्थानको नाम सुवर्णपुर रहेको स्थानीय वासिन्दाहरु बताउंछन् भनी लेखेका छन् । सुनागुठीको विशेषताको चर्चाको क्रममा यहां मनाइने चैत्र शुक्ल पूर्णिमामा जात्रा पनि उल्लेखनीय रहेको छ । त्यस दिन गरिने खट जात्रामा जात्रा गरिने देवताहरुमा श्री गणेश, श्री कुमार, श्री महादेव र श्री बालकुमारी रहेका छन् र ती मध्ये श्री गणेश, श्री कुमार र श्री महादेवका मूर्तिहरु पूर्णकदको काष्ठमूर्ति रहेका छन् ।

सुनाकोठीको सा“स्कृतिक खटजात्रामा जात्रा गरिने देवता श्री गणेश, श्री कुमार र श्री महादेवको भव्य मूर्तिहरु

स्थानीय वासिन्दाहरुको भनाइ र मन्दिरको नजिकैको पाटीमा पुरानो टुँडालहरुलाई विचार गर्दा पहिलेको भृङ्गारेश्वरको महादेवको मन्दिर नेपाली छाना शैलीमा बनेको थियो । यो टुँडालहरुको प्रकृतिलाई दृष्टिगत गर्दा मन्दिर ठूलो र भव्य रहेको अनुमान गर्नु स्वाभाविक नै देखिन्छ ।
श्री भृङ्गारेश्वर महादेवको सम्बन्धमा भक्तजनहरुले इच्छा अनुसारको फल प्राप्त गर्ने मन्दिरका पुजारी रविन्द्र शर्मा बताउनु हुन्छ भनी लेख्नु भएको छ । यथार्थमा श्री भृङ्गारेश्वर महादेव प्रभावकारी महादेवको रुपमा रहेको स्थानीय वासिन्दाहरुको र आमजनताको विश्वास रहेको देखिन्छ ।
५.४. सुनाकोठीको श्री भृङ्गारेश्वर महादेव एक चिनारी
यस रचना अप्रकाशित छ । यस रचनाका रचनाकार श्री नन्दबहादुर महर्जन हुनुहुन्छ । उहाँले यस रचनामा श्री भृङ्गारेश्वर महादेव स्वयं उत्पन्न ज्योतिर्लिङ्ग मानिएका छन् भनी लेख्नु भएको छ । यस शिवलिङ्गले भक्तजनको भय दुःख आदि नाश गरिदिने पूरा जन विश्वास छ भनी लेख्नु भएको छ ।
कुनै एक दिन स्थानीय व्यक्ति विशेषले श्री भृङ्गारेश्वर महादेवको पूजनाराधनार्थ लगेको ताम्रपत्रले अकस्मात् लिङ्गमा छुन जाँदा तत्काल मैं उसको ताम्रपत्र सुवर्ण रुपमा परिवर्तित भएको सो घटना देख्दा पूजक भट्ट आश्चर्य चकित भए, त्यही दिन मध्य रातमा कुशको औंठी लगाई मेरो पूजा गर्नु औंठी सुवर्णमा परिवर्तित हुनेछ भन्ने श्री भृङ्गारेश्वर महादेवका स्वप्नादेशानुसार कुशको औंठी लगाई पूजा गर्दा तत्काल कुशको औंठी सुवर्ण रुपमा परिवर्तित भएको देखी पूजक भट्ट अति खुशी भई झन्

श्री भृङ्गारेश्वर महादेवको दत्तचित्त एकाग्रताका साथ पूजा गर्दै जाँदा कालान्तर पछि एक दिन भट्ट मन्दिर आउनु अगावै श्री भृङ्गारेश्वर महादेवको शिवलिङ्ग सुवर्णलिड्डको रुपमा परिवर्तित भइरहेको मन्दिर आउँदा भट्टले देखे । लोभवसात् भट्ट मठमा गै वन्चरो ल्याई दक्षिणतर्फ हेरी सुवर्णलिङ्गमा बन्चरो प्रहार गरी त्यो स्पर्शमणिको अंश झिक्न लाग्दा उक्त लिङ्गबाट त्यो स्पर्शमणिको अंश उडी पश्चिम तर्फको चोइटो नख्खु प्रदेशमा र पूर्वतर्फको चोइटो महादेव पाखोमा विलीन भएको भन्ने किंवदन्ति रहेको र लिङ्गमा चोइटा गएको अद्यावधि सबैले हेर्न सक्छ भनी उल्लेख गर्नु भएको छ । यसमा रचनाकारले ताम्रपत्र सुवर्ण रुपमा परिवर्तित भएको, पूजक भट्ट आश्चर्य चकित भएको, श्री भृङ्गारेश्वर महादेव शिवलिङ्ग सुवर्णलिङ्ग रुपमा परिवर्तित भइरहेको कुराले नयाँ जानकारीहरु प्राप्त हुन आएको छ ।  पूर्वतर्फको चोइटो महादेव पाखोमा गई विलीन भएको भन्ने सम्बन्धमा भने साहुजल भन्ने पोखरीमा झरेको हुनु पर्दछ भन्ने भनाइ माथि लेखिसकेको छ । यसमा सत्य तथ्य फेला पार्नु बाँकी रहेको देखिन्छ । अन्य कुराहरु अन्यत्र नै उल्लेख भइसकेको हुँदा पुनः दोहो¥याउने कार्य गरिएको छैन ।
यसरी नै श्री पशुपतिनाथमा हरेक वर्ष लाग्ने शुभ–शुभदिनमा लाग्ने पर्व पर्वको मेला, पूजा आजा जस्तै यस श्री भृङ्गारेश्वर महादेवमा पनि उही शुभ पर्व, शुभ दिन र पर्वमा लाग्ने मेला–पूजाआजा खर्च गुठी कार्यालय ललितपुरबाट व्यहोर्ने गर्दछ भनी उल्लेख गर्नु भएको छ ।
नेपाली सम्वत् ६३३ मा रत्नमल्लले श्री भृङ्गारेश्वर महादेवको स्वप्नादेशानुसार नगर निर्माण गरेको कुरा माथि उल्लेख भइसकेको छ । यस सम्बन्धी ठोस आधारहरु प्रस्तुत भएको देखिदैन ।
एकदिन सुनाकोठी गाउँका गोठाला धर्म भन्ने ज्यापु नख्खु प्रदेशमा घाँस काट्न जाँदा हँसिया नलागी बगरको ढुङ्गा टिपी हँसिया उद्धाउँदै घाँस काट्दै घाँस पुगाई खर्पनमा घाँस भारी राखी भारी बोकी घरमा घाँस बिसाई कमरको हँसिया झिकी हेर्दा त हँसिया सुनमा परिवर्तित भएको देखी गोठाला धर्म ज्यापु सुनाकोठी गाउँमा ठूलो धनी मानी भए । पछि गोठाला धर्म ज्यापूले धर्मको नाउँमा तामाको पातमा सुनको जलप लगाई श्री भृङ्गारेश्वर महादेव मन्दिरमा सुनको ढोका, श्री जगन्नाथ नामले प्रसिद्ध मन्दिरमा सुनको टोलं, श्रीकृष्णको मूर्ति वरपर विभिन्न बुट्टाले सजाएको र श्री उमेश्वरमाता जसलाई श्री बालकुमारी भवानी नामले प्रसिद्ध मन्दिरमा सुनको झ्याल राखे पश्चात् गोठाला धर्म ज्यापू पछि छिमेकी गाउँ गाउँमा समेत साहू धर्म ज्यापू भन्ने नाम चलेको जनश्रुति छ भनी  रचनाकारले लेख्नु भएको छ । यस सम्बन्धमा जनश्रुति मात्र होइन प्रमाणितको लागि प्रमाणहरुको खोजी भई प्रस्तुत हुनु आवश्यक देखिन्छ ।

६. श्री भृङ्गारेश्वर सम्बन्धी अन्य केही विवरणहरु
श्री भृङ्गारेश्वर महादेव अति प्राचीन महादेव भएकोले पौराणिक कालदेखि ऐतिहासिक काल लगायत आधुनिक कालसम्मका अनेकौं कार्यहरुसँग समेत सम्बन्ध रहन आएको देखिन्छ । पौराणिक तथा ऐतिहासिक कालका सम्बन्धमा यथा यथा स्थानमा माथि चर्चा गरिसकेको हुँदा यहाँ मूलतः महादेव मन्दिर परिसर भित्रका वस्तुहरुको केही विवरणहरु, नित्यपूजा र विशेष पूजा आदि गुठी संस्थानबाट गरि आएको व्यवस्था र महादेवको भजन मण्डलको स्थापना र विभिन्न पर्वहरुमा गरिने विशेष कार्यक्रमहरु प्रस्तुत गरिएका छन् ।
६.१ श्री भृङ्गारेश्वर महादेव मन्दिर परिसरका केही विवरणहरुः
६.१.१    ईशान कोणमा ३२ हात गहिरो ईनार छ, सो ईनारलाई ज्ञानवापीकुण्ड वा ज्ञानकुण्ड भन्दछन् । ज्ञानवापीकुण्ड वा ज्ञानकुण्डको जल बिहान नित्य पुजाको वेला स्वयं पुजारीले शिव लिङ्गलाई स्नान गराई जलहरीमा राखिएको सोही जल सन्ध्याकालीन आरतीको समयमा भक्तजनहरुलाई छर्कने प्रथा अझसम्म पनि यथावत् रुपमा चल्दै आएको छ । साथै सो जल ग्रहण गर्नेहरुले रोग व्यथाबाट मुक्ति पाउने जन विश्वास अभैm पनि रहँदै आएको छ ।

पवित्र धार्मिक तीर्थस्थल ज्ञानवापीकुण्ड (ज्ञानकुण्ड)

६.१.२.    महादेव मन्दिरको पूर्वपट्टि सरस्वती मूर्ति छ । उक्त मूर्तिमा  श्री पञ्चमी –वसन्त पञ्चमी का दिन गाउंका बालबालिकाहरुलाई अक्षराम्भ सुरु गर्न पूजा गर्ने, विद्यार्थीहरु आ–आफनो पढाइ सफल होस् तथा महिलाहरु आफनो काम पूर्ण होस् भनी सरस्वतीलाई तेल घसी वरदान माग्ने चलन अद्यापि चलि आएको छ । श्री सरस्वतीको मूर्ति नजिकै अर्को सुन्दर राधाकृष्णको मूर्ति पनि रहेको छ ।

श्री वासुकी नाग, श्री विद्याकी देवी सरस्वती माता र श्री राधाकृष्णको मूर्ति

६.१.३.    मन्दिरको दक्षिण पट्टि कीर्तिमुख भैरवको मूर्ति रहेको छ, जसको मुखदर्शन गर्न नहुने भन्ने भनाइ धेरै समय अघि देखि चल्दै आएको छ । यदि दर्शन गरेमा अनिष्ट हुन सक्ने जन विश्वास रहेअनुसार हाल सम्म पनि उक्त भैरवको मूर्तिलाई घोप्ट्याएर राखेको अवस्था छ ।

श्री भृड्डारेश्वर महादेव मन्दिरको दक्षिणमा रहेको श्री कीर्तिमुख भैरव

६.१.४.    भैरवको मूर्तिको नजिक नारायणको मूर्ति छ जुन मूर्तिमा सुत्केरी व्यथा लागेको बेला गर्भवती महिलालाई छुवाएर ल्याएको तेल उक्त मूर्तिमा चढाउने र उक्त तेल थापेर लगी गर्भवती महिलालाई लगाई दिएको खण्डमा सजिलै सुत्केरी हुने जन विश्वास हाल सम्म पनि रहेको छ । नारायणको मूर्तिको नजिकै अर्को अति सुन्दर उमामहेश्वरको मूर्ति पनि रहेको छ ।

प्रसिद्ध श्री नारायणको मूर्ति         सुन्दर उमामहेश्वरको मूर्ति

६.१.५.    मन्दिरको दक्षिणद्वार अगाडि दायाँ वायाँ करीव २ फीट उचाइ, करीव ८ इञ्च गोलाइको सेतो सालिकग्राम आकारको सानो शिवलिङ्ग २ दुई छन् ।
६.१.६.    महादेव मन्दिरको दक्षिण र पश्चिमको कोणमा श्री जगन्नाथ मन्दिर छ । उक्त मन्दिरमा दैनिक नित्य पूजा गरिन्छ साथै रामनवमीका दिन विशेष पूजा गरी विहानैदेखि रातीसम्म भजनकीर्तन गरी प्रसाद वितरण गरी समापन गरिन्छ । यस पूजाको लागि गुठी सस्थानबाट पुजा सामग्री दिइ राखेको छ ।
६.१.७.    मन्दिरको पश्चिमपट्टि रहेको हनुमानको रुपमा पूजा गर्ने प्वालमा नर्कट र ज्यामिर वा बिमिराको टुक्राहरु राखी माला उनी चढाएको खण्डमा बच्चाहरु सातो गएको साथै पेटको व्यथा लगायत अन्य रोगहरु समेत निवारण हुने धारणा रहेको र हाल सम्म पनि यथावत् रुपमा सो चलन चलि नै रहेको छ ।
६.१.८.    मन्दिरको पश्चिम पट्टि रहेको सिङ्गो ढुङ्गाको बडो आकर्षक एवं ठूलो बसाहाको प्रतिमा देखेपछि उक्त बसाहालाई पशुपति लग्ने भनी लगेको र गाउंँको सिमाना ढोलाहिटी सम्म पु¥याए । त्यस पछि केही गर्दा पनि हल्लाउन समेत नसके पछि फेरि सोही स्थानमा ल्याउँंदा सजिलै संग ल्याउन सकेको मौखिक रुपमा एक पीढीबाट अर्को पीढीमा चल्दै

आएको छ । यसको संगै अन्दाजि १५ फीट लामो सिँगो ढुङ्गाको भव्य कलात्मक त्रिशूल रहेको छ । नेपाल सम्वत् ७३५ (वि.सं. १७१२) ताका तयार पारिएका त्रिकोणात्मक इँटाहरु पशुपतिको प्राङ्गण छाप्ने काममा प्रयाग गरिएका थिए अहिले पनि त्यसको नमूना उन्मत्त भैरवको उत्तरपट्टिको सिंढीमा देख्न पाइन्छ । यसरी नै श्री भृङ्गारेश्वर महादेवको मन्दिरको पश्चिमपट्टि सिंगो ढुंगाको ठूलो बसाहा र सिंगो ढुंगाको भव्य कलात्मक त्रिशूलको वरपर त्रिकोणात्मक इँटाहरु अद्यापि रहेका छन् । ती त्रिकोणात्मक इँटाहरु ने.सं. ७३४ ताकाको वा सो भन्दा अगाडिको हुन सक्ने देखिन्छ ।
६.१.९.    श्री भृङ्गारेश्वर महादेवको मन्दिरको पश्चिममा हिन्दूहरुको पवित्र धाम चार धाम जगन्नाथ, रामेश्वर, केदारनाथ र बद्रीनाथको मूर्ति प्रतिस्थापन गरिएको छ । उक्त पवित्र मूर्तिहरुको प्रतिस्थापनले श्री भृङ्गारेश्वर महादेवको परिसरमा अझ पवित्रता थपेको छ ।

पवित्र चारधाम श्री जगन्नाथ, श्री रामेश्वर, श्री केदारनाथ तथा श्री बद्रीनाथका मूर्तिहरु

६.१.१०.    मन्दिरको उत्तरपट्टि जलकुण्ड रहेको छ । उक्त जलकुण्ड निर रहेको वासुकी नागको मूर्तिमा पूजा आजा गरेको खण्डमा  विभिन्न दोष, रोग, व्यथाहरु निको हुने जन विश्वास रहेको छ ।

श्री भृड्डारेश्वर महादेवको जलकुण्ड

६.१.११.    श्री भृङ्गारेश्वरको भीमार्जुनदेव ं विष्णुगुप्तको अभिलेखमा “आश्चर्यको……..मूर्ति बनाउन लायकको ढुङ्गा तान्नमा लाएका भृङ्गारग्रामका पांचालिकहरुले” भन्ने व्यहोरा उल्लेख छ । यसबाट भृङ्गारेश्वरभेकका बासिन्दाहरुले (संभवतः सुनाकोठीवासीहरु) ले पनि बुढानीलकण्ठ नारायण मूर्ति बनाउन ढुंगा तानेर ल्याइदिएका रहेछन् भन्ने थाहा पाईन्छ । यसरी सुनाकोठी बासिन्दाहरुको लिच्छविकालीन समयदेखि बुढानीलकण्ठ नारायणसँग राम्रो अन्तर्हृदयको सम्बन्ध रहेछ । फलस्वरुप हाल आएर धर्मपरायण सुनाकोठीवासीहरुमध्ये धर्ममा आस्था भएका केही महानुभावहरुले भित्री हृदयले श्री जलशयन बूढानीलकण्ठ नारायणको भव्य मूर्ति बनाउन लगाउनु भई २०६९ साल आश्विन ११ गते वृहस्पतिवारको शुभ दिन शुभ मुहूर्तमा उत्तरपूर्वमा श्री भृङ्गारेश्वर महादेवको पवित्र परिसरमा सो मूर्तिमा प्रतिष्ठापन गरी धन्य कार्य गरेका छन् ।

श्री जलशयन बुढानीलकण्ठ नारायणको भव्य मूर्ति

६.१.१२.    मन्दिरको उत्तर पश्चिमपट्टि बसाहाको चरणको लागि सानो चौर समेत रहेको र परापूर्व कालमा उक्त चौरमा राती बसाहा चर्ने गरेको कथन समेत उल्लेख रहेको छ ।

६.२.    श्री भृंङ्गारेश्वर महादेवको दैनिक नित्य पूजा, विशेष पूजा आदिको लागि गुठी संस्थानबाट गरिआएको व्यवस्था ।
६.२.१.    दैनिक नित्य पुजा
दैनिक रुपमा ज्ञानवापीकुण्ड (इनार) बाट जल ल्याई शिवजीलाई स्नान गराई जल धारा लगाई नित्य पूजा गरी रुद्री पाठ गरिन्छ र संध्याकालीन आरती गरी अर्घ जलले शिवजीलाई अभिषेक गरी सकेपछि  पूर्णकलशको जलले भक्तजनहरुलाई जल छर्किने गरिन्छ र हाल सम्म पनि उक्त जल ग्रहण गर्न भक्तजनहरुको भीड लाग्ने गर्दछन् । सो जल ग्रहण गरेमा निरोगी हुनुको साथै आफनो आत्मकल्याण हुने जन विश्वास रहेको  छ ।
६.२.२.   विशेष पूजा
हरेक वर्ष महाशिवरात्री, श्री रामनवमीका दिनको लागि मात्र विशेष पूजाको लागि गुठी संस्थानबाट पूजा सामग्रीको व्यवस्था गरिएको भए तापनि श्रावण महिना भर, चैैत्र पूर्णिमा, हरितालिका तीज र श्री कृष्ण जन्माष्टमीका दिनहरुमा पनि विशेष पूजा हाल सम्म गर्दै आएको छ । सोको लागि यसै मन्दिरका पुजारीलाई गुठी संस्थानले आवश्यक व्यवस्था समेत गरिएको छ ।
६.२.३.    सुसारेको व्यवस्था
हरेक दिन पूजा थाली माभ्mन वा सफा गर्न सुसारेको पनि व्यवस्था गरिएको र उनलाई वार्षिक १ मुरी ५ पाथी धानका हिसावले प्रति मुरी रु ८०० ।  का दरले रु १०००। गुठी संस्थानबाट उपलव्ध गराइन्छ ।
६.२.४.    मन्दिर परिसरमा सफा गर्ने व्यवस्था
मन्दिर परिसरमा सफा गर्नका लागि सफा गर्नेको समेत व्यवस्था गरिएको छ र उनलाई वार्षिक २ मुरी १५ पाथीका हिसावले प्रति मुरी रु ८००। का दरले रु २२००। गुठी संस्थानबाट उपलव्ध गराइन्छ ।
६.२.५.    पुजारीको खान्की
पुजारीलाई मासिक रु २००।  जगन्नाथ को रु १००। समेत  र श्री भृङ्गारेश्वर महादेवको खान्की वार्षिक १० मुरी धान को प्रति मुरी ८०० का दरले रु.८००० गुठी संस्थानबाट प्रदान गर्दै आएको छ ।
६.२.६.    चतुरमास ४ महिनाभरी रुद्री पाठ गरे वापत धान २ मुरी वरावर रु १६००। गुठी सस्थानबाट व्यवस्था गरिएको छ ।

६.२.७.    ज्ञानवापीकुण्ड, सिद्धरसकुण्ड वा नागदहकुण्डबाट जल ल्याई श्री भृङ्गारेश्वर महादेवमा अर्पण गरेमा वा चढाइएमा आप्mनो मनोकांक्षा पूरा हुने र कैलाशवास हुने जन विश्वास रहेको छ । हाल सम्म पनि जल चढाउने भक्तजनहरु रहेको र त्यसमा पनि विशेष गरी श्रावण महिना भर जल चढाउने भक्तजन्हरुको भीड नै लाग्ने गर्दछ ।
६.३.    श्री भृङ्गारेश्वर महादेवको भजन मण्डलको स्थापना र विभिन्न पर्वहरुमा गरिने, विशेष कार्यक्रमहरु
६.३.१.    श्री भृङ्गारेश्वर महादेवको भजन मण्डलको स्थापना
६.३.१.१.    ललितपुर सुनाकोठी गा.वि.स. अन्तरर्गत, वडा नं. ७ मा रहेको श्री भृङ्गारेश्वर महादेव स्थानमा भजन मण्डल स्थापना गर्ने सिलसिलामा २०५८ सालदेखि प्रयास गर्दै आएको र स्थानीयवासी साथीभाइहरुको सहयोगमा २०६४ साल चैत्र ४ गतेका दिन श्री भृङ्गारेश्वर महादेव भजन मण्डल स्थापना गरियो ।  श्री भृङ्गारेश्वर महादेव भजनमण्डल स्थापना पछि महादेव मन्दिर परिसर भित्र राम्रो धार्मिक वातावरण सिर्जना भएको छ । यस भजन मण्डल स्थापना भएदेखि प्रत्येक सोमवार एकादशी, पूर्णिमाका दिन विहान ६ः०० बजे देखि ८ः०० बजे सम्म धार्मिक भजन कीर्तन गर्ने र सम्पूर्ण भक्तजनहरुलाई चियापान गराउने गरिआएको छ ।

श्री भृड्डारेश्वर महादेव मन्दिरको परिसरमा भजन गरिरहेका भक्तजनहरु

६.३.१.२    २०६५ साल भाद्र महिनाको पूर्णिमाका दिनदेखि प्रत्येक पूर्णिमाका दिन यस सुनाकोठी गाउँका जंकु (भीम–रथारोहण) गरी सकेको ज्येष्ठ नागरिकहरुलाई सम्मान गरी प्रसाद ग्रहण गराउने, धार्मिक भजनकीर्तन, प्रवचन श्रवण गराउने र भोजन गराउनुुका साथै सम्पूर्ण उपस्थित भक्तजनहरुलाई प्रसाद वितरण गर्ने व्यवस्था गरि आएको छ ।

प्रत्येक पूर्णिमाका दिन सम्मान कार्यक्रममा सहभागी हुने आदरणीय ज्येष्ठ नागरिकहरु
६.३.२.    विभिन्न पर्वहरुमा गरिने विशेष कार्यक्रमहरु
६.३.२.१.     श्रीकृष्ण जन्माष्टमीका दिन विहान ६ बजे देखि राती १२ बजेसम्म भजन कीर्तन जलपान, प्रसाद वितरण गराउँदै आएको र भोलिपल्ट दिउँसो १ बजे सम्पूर्ण भक्तजनहरुलाई भोजन गराई श्री कृष्ण भगवानको मूर्तिलाई खटमा विराजमान गराई बाजागाजासहित गाउँ परिक्रमा गरी धुमधामसँग कृष्णजात्रा मनाउँदै आएको छ ।
६.३.२.२.     कार्तिक कृष्णपक्ष औंसी लक्ष्मी पूजाका दिन साझ ६ः०० बजे महादेव मन्दिर वरिपरी १००८ पाला बत्ती प्रज्ज्वलन गरी दीपावली मनाउँदै आएको छ ।
६.३.२.३.     फागुन कृष्णपक्ष चर्तुदशी महा–शिवरात्रीका दिन विहान ६ः०० बजे देखि राती १२ः०० बजेसम्म भजन कीर्तन नाचगान एवं सम्पूर्ण भक्तजनहरुलाई बिहान चियापान, दिउँसो प्रसाद र राती शिवप्रसाद वितरण गर्ने उक्त दिन बिहान सवालाख बत्ती प्रज्ज्वलन गर्ने  र यज्ञकुण्डमा धुनी जगाउने गर्दै आएको छ ।
६.३.२.४.    यसैगरी प्रत्येक वर्ष महाशिवरात्री पर्व अगाडि महादेव मन्दिर, मन्दिर वरिपरिको पर्खालहरुमा रंग रोगन गर्दै आएको, छाना मर्मत, पेटी, पर्खाल आदि मर्मत गर्ने काम गर्दै आएको छ ।

६.३.२.५.    २०६८ सालमा जनन्नाथ मन्दिर जीर्णोद्वार र यसरी नै २०६८ सालदेखी श्रावण महिनाको प्रत्येक सोमबार, पूर्णिमा, नागपञ्चमीका दिनहरुमा बोलबम कार्यक्रमहरु हुने गरेका छन् । उक्त कार्यक्रममा ३५०।४०० जनाको सहभागितामा धापाखेलको पवित्र कुण्ड नागदहबाट जल ल्याई भृङ्गारेश्वर महादेवलाई जल चढाउने कार्य २०६९ साल साउन महिनामा पनि भएको थियो ।

बोलबम कार्यक्रममा सहभागी भक्तजनहरु

धापाखेलमा अवस्थित प्रसिद्ध नागदहमा नागदेवताको पूजाअर्चना गर्दै भक्तजनहरु

६.३.२.६.    प्रत्येक पूर्णिमाका दिन भजन गर्न गाउँका भजन मण्डलहरुको आलोपालो गरी भजन गराउने व्यवस्था गरिएको छ । साथै दिवंगत हुनु भएका ज्येष्ठ नागरिकहरुको सम्झनामा पूर्णिमाका दिन दिवंगत आत्माको चिरशान्तिका कामना गर्दै १ मिनेट मौन धारण गर्ने गरिआएको छ ।
६.३.२.७.    २०६९ बैशाख ६ गते श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समिति नामको संस्था दर्ता गरियो । सो समितिले श्री भृङ्गारेश्वर महादेव सम्बन्धी सुधार कार्यक्रमहरु गर्दै श्री भृङ्गारेश्वर महादेव परिसरलाई सुन्दर र पवित्रमय बनाउन र अन्य धार्मिक कार्यहरु गर्न  सफल भएको छ ।

श्री भृड्डारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समितिका कार्यक्रममा सरिक भएका सहभागीहरु

७. उपसंहार
श्री भृङ्गगारेश्वर शिवलिङ्ग मानव निर्मित कृत्रिम शिवलिङ्ग होइन, यो स्वयम्भू ज्योतिर्लिङ्ग हो । श्री  भृङ्गारेश्वर महादेवको नाम समयचक्रमा भृङ्गारेश्वर, भृङ्गेश्वर, भृंगेश, भीमभृङ्गेश्वर, भृङ्गीश्वर, सुवर्णेश्वर आदि नामले पुकारिए पनि, नेपालमा नै प्राप्त लिच्छविकालीन अभिलेख मूलतः भीमार्जुनदेवंविष्णुगुप्त र शिवदेवको अभिलेख अनुसार भृङ्गारेश्वरबाटै थालनी भएको देखिन्छ । महादेवको नामको सम्बन्धमा खासै विवाद गर्नु पर्ने र यही नै नाम उचित र अरु अनुचित भनी चर्चा गर्नु पर्नेै कुनै आवश्यकता रहेको देखिदैन । महादेवको नाम शिव सदाशिव शंकर आदि विभिन्न नाम रहे पनि एकै हो, परमब्रम्ह हो ।
श्री भृङ्गारेश्वर महादेवको प्राचीनताको सम्बन्धमा विचार गर्दा श्री भृङ्गारेश्वर, महादेव प्राचीन मात्रै होइन अति प्राचीन हो । गोपालराजवंशावलीको सूक्ष्म अध्ययन गर्दा श्री भृङ्गारेश्वर महादेव हाम्रो प्राप्त इतिहांस गोपालवंश वा गोपालवंशभन्दा अगाडिको हुन सक्ने अनुमान पनि गर्न सकिने देखिन्छ । डा. स्वामी प्रपन्नाचार्यले किरातेश्वर महादेवको शिवलिङ्गलाई यो आजभन्दा पाँच हजार वर्ष पुरानो शिवलिङ्ग हो भनी भन्नु भएको छ । श्री भृङ्गारेश्वरको शिवलिङ्गलाई दृष्टिगत गर्दा  श्री भृङ्गारेश्वर शिवलिङ्गको ढुङ्गा आकृति जलहरी आदिलाई विचार गर्दा यो अवश्य पनि किरातेश्वर भन्दा पनि पुरानोे शिवलिङ्ग हो भन्ने  तर्क गर्नु मनासिव नै देखिन्छ ।
श्री भृङ्गारेश्वरको शिवलिङ्ग र श्री पशुपतिनाथको शिवलिङ्ग दुवै प्राचीन शिवलिङ्ग हुन् भन्ने कुरामा मतैक्य भएको पाइन्छ । श्री भृङ्गारेश्वरको शिवलिङ्ग र श्री पुशुपतिनाथको शिवलिङ्ग कुन पुरानो हो भन्ने सम्बन्धमा तुलना गर्ने आधार छैन किनभने श्री पशुपतिनाथको पुराना शिवलिङ्गलाई बंगालका सुल्तान शमसुद्दीन इलियासको आक्रमणमा पहिले नष्ट भएको कुरा वंशावली एवं शिलालेखहरुबाट बुझिन्छ । पशुपतिनाथमा भएको वर्तमान शिवलिङ्ग वि.सं. १४१७ मा स्थापित अर्वाचीन शिवलिङ्ग हो । पशुपतिनाथको प्राचीनताको कुरा गर्दा महाभारतमा उल्लेख गरिएको घटनाक्रम एवं इतिहासलाई मनन् गरी विद्वानहरुले यसलाई कलियुगको प्रारम्भ भन्दा अघिको कालको मानेका छ । त्यसअनुसार महाभारतको रचनाकाल ५०९६ वर्ष अघि हुन्छ । ५०९६ वर्ष अघि रचिएको ग्रन्थमा पशुपतिनाथको उल्लेख पाइनाले पशुपतिनाथको प्राचीनताको बारेमा केही संकेत मिल्दछ । यसरी पशुपतिनाथ प्राचीन अति प्राचीन महादेव हो भन्ने कुरामा विवाद गर्नुपर्ने ठाउँ छैन । पशुपतिनाथ अति प्राचीन महादेव भए जस्तै  श्री भृङ्गारेश्वर महादेव पनि अति प्राचीन महादेव हो । यसको समय पनि ५ हजार वर्ष अगाडि नै भएको हुनु पर्दछ भन्ने अनुमान महाभारतको रचनाकाल र किरातेश्वर शिवलिङ्गको समयलाई मात्र दृष्टिगत गरेपनि गर्न सकिने देखिन्छ ।

गोपालराजवंशावली अनुसार नेपाल उपत्यकामा भृङ्गारेश्वर महादेव स्थापना पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने रहेको छ । श्री भृङ्गारेश्वर र श्री पशुपतिनाथ दुवै प्रादुर्भाव भएका महादेव हुन् । गोपालराजवंशावलीमा त्यसबेला हिमालय पहाड भागमा रहेको घनाजंगल भएको भूमण्डल (नेपाल उपत्यकामा) श्री भृङ्गारेश्वर महादेवको प्रादुर्भाव भयो । अनि गौतम आदि ऋषिहरुले त्यहाँ गौतमेश्वर आदि देवताहरु स्थापना गरे । अनि श्री भृङ्गारेश्वर महादेव श्लेष्मान्तक वनमा विहार गरी रहन लागे । नेप नाउँका गोपाल भए । तिनकै कैली गाईले वाग्मतीको तिरमा गई दूधले सेचन गर्न  लागी । दूधले सेचन गरिएको त्यस ठाउँमा श्री पशुपतिनाथ प्रकट भए । ती नेप नाउँ गरिएका गोपालले पशुपतिको प्रतिष्ठा गरे । यसबाट श्री भृङ्गारेश्वर महादेव श्लेषमान्तक वनमा विहार गरी रहन लागेको बखत नेप नामको गोपाल भई तिनको गाईले सेचन गरेको ठाउँमा पशुपतिनाथ प्रकट भई उनले पशुपतिको प्रतिष्ठा गरे भन्ने उल्लेख भएबाट श्री भृङ्गारेश्वर महादेव नै पहिले प्रादुर्भाव भएको हो कि भन्ने कुराको पुष्ट्याइँमा थप बल पुग्न गएको देखिन्छ । यसरी नै भगवान शिवले श्लेषमान्तक वनमा पशुरुपले बसेको हुँदा उनी संसारमा पशुपतिनाथ नामले प्रसिद्ध भएको भन्ने उल्लेख पाइन्छ । यस्तै क्रममा त्यसपछि शिवले पार्वतीलाई ज्येष्ठिला, शोकवत्ती, भृङ्गेश्वर आदि क्षेत्रको दर्शन पूजन गर्न अ¥हाई आपूmचाहिं मृग रुपमा मृगस्थलीको रमणीय वनमा घुम्ने कुरा बताएको प्रसंग पशुपतिनाथको सांस्कृतिक अध्ययन, पशुपति विवेचना एवं पशुपतिनाथमन्दिरपरिचय, पेज ९८ मा पशुपति पुराणमा उल्लेख भएको छ भनी लेखिएबाट पनि श्री भृङ्गेश्वर अर्थात् श्री भृृङ्गारेश्वर महादेव पशुपतिनाथ भन्दा अगाडि प्रादुर्भाव भइसकेको भन्ने कथन सत्यको निकटता देखा पर्न आएको तथ्यलाई सम्झनु पर्ने देखिन्छ ।
श्री भृङ्गारेश्वर महादेव र श्री पशुपतिनाथमा कुन पहिलेको प्रश्न भन्दा दुवै अति प्राचीन महादेव रहेको वंशावली आदिको प्रमाणिकताबाट देखिएकोले दुबै महादेवमा पूर्ण श्रद्वा आस्था र विश्वासका साथ अन्तर्हृदयबाट भक्तिपूर्वक पूजा पाठ गरेमा उत्तिकै पुण्यफल प्राप्त हुने कुरा ढुक्कका साथ मान्न सकिन्छ ।
श्री भृङ्गारेश्वर शिवलिङ्ग ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो । वैदिक सनातन परिवारमा नौ प्रकारका शिवलिङ्ग पूजक सम्प्रदायहरु देखिएका छन् । ती मध्ये ब्राह्म सम्प्रदाय सबैभन्दा प्राचीन मानिन्छ । ब्राह्म सम्प्रदायमा पनि शिवलिङ्ग र जलहरी दुवै ब्राह्म सम्प्रादय भएको नेपालमा प्राप्त शिवलिङ्ग मध्ये श्री भृङ्गारेश्वर शिवलिङ्ग नै हो । यसरी श्री भृङ्गारेश्वर शिवलिङ्गको विशेषतालाई दृष्टिगत गर्दा पनि यो श्री भृङ्गारेश्वर शिवलिङ्गको महिमा अपार रहेको छ । यस अतिरिक्त यो प्राचीन शिवपूजक सम्प्रदायहरुमा सबैभन्दा पहिले ब्रह्माले पूजन गरेको ब्राह्म सम्प्रदायको शिवलिङ्ग हो । यसरी श्री भृङ्गारेश्वर महादेवको गरिमामय महिमा अपरम्पार रहेको देखिन्छ ।
श्री भृङ्गारेश्वर महादेव साक्षात् परंब्रम्ह महादेव हो । भक्तजनहरुको इच्छा अनुसार फल दिने, मोक्ष प्रदान गर्ने, महादेवको रुपमा हेरिन्छ, पुण्यदाता, लोकको हित गर्ने, जनतालाई आनन्द दिने, श्रापबाट मुक्ति दिने, पूर्व जन्मको पापबाट हुने, शरणागतलाई शरण दिने, परमपद प्राप्त गराउने महादेवको रुपमा पनि श्री भृङ्गारेश्वर महादेवलाई हेरिन्छ । वास्तवमा यो सिद्धमहादेव हो । भक्तजनको मनोकांक्षा पूर्ण गर्ने, कल्याण गर्ने श्री भृङ्गारेश्वर महादेव भक्तवत्सल महादेव हो । श्री भृङ्गारेश्वर महादेवको भक्ति गर्नाले अवश्य नै तुरुन्तै फलिफाप हुने कुरा जन विश्वास रहेको छ ।

गहन ऐतिहासिक धरोहर भएको, आफै उत्पन्न भएको, प्रादुभार्व भएको, लोकको हित गर्ने श्री    भृङ्गारेश्वर महादेव, स्वयम्भू ज्योतिर्लिङ्ग महादेवलाई पूर्ण आस्था र भक्तिका साथ पूजार्पण आदि गर्नाले ठूलो पुण्य प्राप्त हुने हुन्छ । श्री भृङ्गारेश्वर महादेवको गरिमामय महिमालाई दृष्टिगत गर्दा सम्बन्धित स्थानीय निकायले र राज्य स्तरबाट देशले यथेष्ट मात्रामा यस महादेवको प्रसिद्धिमा विस्तारको साथै, यससँग सम्बन्धित ऐतिहासिक तथा साँस्कृतिक सम्पदाको संवद्र्धृन तथा प्रवद्र्धनको लागि आवश्यक सहयोग गर्नु नितान्त आवश्यक रहेको देखिन्छ । श्री भृङ्गारेश्वर महादेवको प्रसिद्धिको विस्तार गर्ने क्रममा श्री भृङ्गारेश्वर महादेव भजन मण्डल र श्री भृङ्गारेश्वर महादेव सुधार तथा वृद्ध सेवा समिति समेत दर्ता भई केही सह्रानीय कार्यहरु शुरु गर्दै आएको हुंदा श्री भृङ्गारेश्वर महादेवको प्रसिद्धि दिनानुदिन बढ्दै जानेछ, जाओस् भनी आकांक्षा राख्नु सत्कर्म भित्र नै हुने आशा गरिन्छ ।

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित लिच्छविकालका अभिलेख पृष्ठ ४४८–४५०

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित लिच्छविकालका अभिलेख पृष्ठ ५१९–५२१

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित मध्यकालका अभिलेख पृष्ठ ११–१५

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित मध्यकालका अभिलेख पृष्ठ ५२–५४

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित मध्यकालका अभिलेख पृष्ठ ५६–५७

सौजन्यः– श्राीधनबज्र बज्राचार्य लिखित मध्यकालका अभिलेख पृष्ठ २५८–२६१